काठमाडौं– नयाँ सरकार गठनका लागि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेपछि त्यसविरूद्ध सर्वोच्च अदालतमा १३ रिट निवेदन पेश भएका छन्।
आज शुक्रबार कार्यालय समयसम्म १३ वटा रिट निवेदन पेश भएको सर्वोच्च अदालतको रिट महाशाखाका प्रमुख बाबुराम दाहालले जानकारी दिए।
‘कार्यालय समयसम्म १३ वटा रिट पेश भएको हो। अध्ययन गर्ने क्रममा ३ वटा नमिलेकाले पुनः सच्चाएर ल्याउन भनियो,’ उनले भने, ‘आज अध्ययन गर्ने क्रममा समय अपुग भएकाले दर्ता हुन सकेन।’
उनले आइतबार पेश भएका रिट निवेदनहरु बिहान ११ बजे दर्ता गरिने जानकारी दिए। अधिवक्ता विरभद्र जोशी, कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल, कल्पना शर्मा, रामबहादुर शाहीलगायत १३ जनाले रिट लिएर सर्वोच्च पुगेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि बिहीबार गरेको आह्वान संविधानविपरीत भएको भन्दै त्यसलाई बदर गर्न रिट निवेदकहरुले माग गरेका छन्।
राष्ट्रपतिले गरेको आह्वानअनुसार एमाले संसदीय दलका नेता केपी शर्मा ओली र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन्।