बुधबार, भदौ १०, २०८३

गुनिला र दुर्लभ संगीतकारको सम्झना

गोपाल योञ्जनले भौतिक चोला बिसाएको २४ वर्ष पूरा भइसके पनि नेपाली सांगीतिक क्षेत्रमा उनलाई ‘द्रोणाचार्य’ मान्नेको जमात् उत्तिकै बाक्लो छ। उनी नेपाली संगीतका एक ग्वाला हुन्, जसले नेपाली संगीतमा सुनका धारा दूध दिने गाई पाले र नेपालीलाई तिनै स्वर्ण गाई सुम्पेर गए।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

‘सामान्य मानिसलाई युगले जन्माउँछ तर विशिष्ट मानिसले युगलाई जन्माउँछ।’ दार्जिलिङमा जन्मे पनि नेपाललाई कर्मभूमि बनाई सुगम संगीतको स्वर्णिम युग जन्माउने महान् सष्ट्रा हुन्, संगीतशिरोमणि गोपाल योञ्जन। चिनामा ‘सिकन्दर’ नाम लेखिएका गोपाल कालान्तरमा नेपाली सुगम संगीतको ‘चौबीस क्यारेट’ कै सिकन्दर प्रमाणित भए। 

छोरी मात्र रहेका डाक्टर बुद्धिमान योञ्जन र छेकुडोल्मा योञ्जनको परिवारमा ‘मेडिसिन बुद्ध’ को पूजा लगाएपछि सन् १९४३ अगस्ट २६ मा जन्मिएका गोपाल जीवनभर बुद्धकोे सच्चा अनुयायी भएर बाँचे। फूलभन्दा कोमल, हिउँभन्दा शीतल, हिमालभन्दो अग्लो र समुद्रभन्दा गहिरो भएर दार्शनिक जीवन बिताएका गोपाल सांगीतिक वृत्तका एक ‘महाप्राज्ञ’ हुन् जसबाट दीक्षित भएकाहरू कहिल्यै पनि तृप्त हुनै सकेनन्। 

गोपाल योञ्जनले आफ्नो भौतिक चोला बिसाएको २४ वर्ष पूरा भइसके पनि नेपाली सांगीतिक क्षेत्रमा उनलाई ‘द्रोणाचार्य’ मान्नेको जमात् उत्तिकै बाक्लो छ। उनी नेपाली संगीतका एक ग्वाला हुन्, जसले नेपाली संगीतमा सुनका धारा दूध दिने गाई पाले र आजीवन नेपालीलाई तिनै स्वर्ण गाई सुम्पेर गए।

वरिष्ठ संगीतकार दीपक जंगमका अनुसार मूर्धन्य संगीत साधक गोपाल योञ्जन आफैंमा एक ‘इन्टिच्युसन’ थिए जसबारे मिहीन अनुसन्धान कहिल्यै हुन सकेन। गोपालले आफ्नो भौतिक चोला बिसाएको २४ वर्ष पूरा भइसके पनि नेपाली सांगीतिक क्षेत्रमा उनलाई ‘द्रोणाचार्य’ मान्नेको जमात् उत्तिकै बाक्लो छ। संगीतकर्मी भूपेन्द्र खड्काका अनुसार गोपाल योञ्जन नेपाली संगीतका एक ग्वाला हुन्, जसले नेपाली संगीतमा सुनका धारा दूध दिने गाई पाले र आजीवन नेपालीलाई तिनै स्वर्ण गाई सुम्पेर गए। 

गाेपाल याेञ्जन। तस्बिर साभार प्रकाश सायमीकाे फेसबुकबाट

बुबा डाक्टर बुद्धिमान योञ्जन छोरा गोपाललाई पनि चिकित्सक बनाउन चाहन्थे भने आमा छेकुडोल्मा ‘महान् सन्न्यासी’। शान्त, सौम्य तथा लजालु स्वभावका गोपालको ध्यान भने सानैबाट संगीतमा थियो। आमाले तरकारी किन्न पठाएको पैसाबाट बचेको रकम जम्मा गरी गोपाल बाँसुरी किन्थे। गोपालको बाँसुरीको मधुरध्वनिले स्पर्श नगरेको पहाडकी रानी ‘दार्जिलिङ’ का सायद त्यस्ता कुनै कुनाकन्दरा नै थिएनन्। बाँसुरी बजाउने उनको अद्भूतको कलाको चर्चित निर्देशक सत्यजित रोयले मुक्तकण्ठले प्रशंसा गर्दै उनलाई जुनसुकै बेला जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको बताएका थिए।

गोपालप्रति नगेन्द्रको आत्मीयता देखेर छेकुडोल्माको ‘आमामन’ पग्लियो, उनी स्तब्ध भइन्। अन्ततः आफ्नो प्राणप्रिय छोरा नगेन्द्रकै जिम्मा लगाइन्। छेकुडोल्माले पछिसम्म पनि आफ्नो पूजाकोठामा प्राणप्रिय छोरा गोपालसँगै नगेन्द्रको तस्बिर राखेकी थिइन्।

कलेजमा काठमाडौंबाट पढ्न आएका विद्यार्थीमध्ये उनका सबैभन्दा घनिष्ठ थिए नगेन्द्र थापा। यौवनावस्थाका प्रेमिल जोडीभन्दा पनि आत्मीय थिए, नगेन्द्र र गोपाल। बीएको परीक्षा सकेर नगेन्द्र काठमाडौं फर्के तर गोपाल बिनाको जीवन उनलाई निरर्थक लाग्यो। गोपाल बिना जिउनै नसक्ने अवस्था आएपछि नगेन्द्र रुँदै आमा छेकुडोल्माको शरणमा पुगे, गोपाललाई सुम्पन्न अनुनय गरे। आफ्ना दाजु सूर्यबहादुर थापा नेपाली राजनीतिमा ‘जल्दोबल्दो’ अवस्थामा रहेकाले गोपालका लागि ‘केही गर्न सक्छु’ भन्ने आत्मविश्वास नगेन्द्रमा थियो। गोपालप्रति नगेन्द्रको आत्मीयता देखेर छेकुडोल्माको ‘आमामन’ पग्लियो, उनी स्तब्ध भइन्। अन्ततः आफ्नो प्राणप्रिय छोरा नगेन्द्रकै जिम्मा लगाइन्। छेकुडोल्माले पछिसम्म पनि आफ्नो पूजाकोठामा प्राणप्रिय छोरा गोपालसँगै नगेन्द्रको तस्बिर राखेकी थिइन्। 

नगेन्द्र र गोपाल २०१९ (वि.सं.) तिर दार्जिलिङमा बिए पढ्दै गर्दा नारायण गोपाल बडोदामा शास्त्रीय संगीतको विद्यार्थी थिए। नारायण गोपाल दार्जिलिङ घुम्न जाँदा ईश्वर बल्लभमार्फत उनीहरू (नगेन्द्र र गोपाल) को भेट भयो। ईश्वर बल्लभका केही गीत गाउँदै चर्चा बटुलिसकेका नारायण गोपालको उच्च कोटीको स्वरबारे नगेन्द्र, गोपाल र कर्म योञ्जनबीच बारम्बार कुराकानी हुन्थ्यो। ईश्वर बल्लभ गोपाल योञ्जनको प्रतिभाबाट पनि कायल थिए। 

ईश्वर बल्लभकै पहलमा नगेन्द्र र कर्मलाई साक्षी राखेर दार्जिलिङको महांकाल डाँडामा मकलमा आगो बाल्दै दुई गोपालको ‘मीत’ लगाइएको क्षण नेपाली सांगीतिक क्षेत्रको अहिले पनि अविस्मरणीय अध्याय हो।

दुइटा गोपाललाई सँगै राख्न सकियो भने नेपाली सुगम संगीतमा छलाङ मार्न सक्छ भन्ने सोचेका थिए, ईश्वर र नगेन्द्रले। ईश्वरकै पहलमा नगेन्द्र र कर्मलाई साक्षी राखेर दार्जिलिङको महांकाल डाँडामा मकलमा आगो बाल्दै दुई गोपालको ‘मीत’ लगाइएको क्षण नेपाली सांगीतिक क्षेत्रको अहिले पनि अविस्मरणीय अध्याय हो। बीसको दशकको बीचमा नगेन्द्र थापाको शब्द, गोपाल योञ्जनको संगीत र नारायण गोपालको स्वरमा रकेर्ड भएका कालजयी गीतले नेपाली सांगीतिक क्षेत्रमा ‘क्रान्ति’ नै ल्याए। 

त्रिमूर्तिको सहकार्य नेपाली सुगम संगीतमा स्वर्ण अक्षरले लेखियो। कहिल्यै नरिसाउने गोपाल योञ्जन र रिसाएपछि मान्छे पिट्न पनि पछि नपर्ने नारायण गोपालका लागि वर्षौंसम्म ‘स्यान्डविच’ को काम गरे नगेन्द्र थापाले। ‘मीतज्यू’ बीचको सहकार्य १२ वर्षसम्म मात्र कायम रह्यो। त्यसपछि दुवै जना आ–आफ्नो बाटो लागे। वरिष्ठ लेखक चेतन कार्कीकै शब्दमा यी दुई विशिष्ट प्रतिभा आ–आफ्नो बाटो लाग्दा, दुवैलाई व्यक्तिगत रुपमा कुनै क्षति भएन किनकि दुवै आ–आफ्नो क्षेत्रमा पोख्त थिए। तर समग्रमा नेपाली सुगम संगीत पनि धेरै पछि पर्‍यो। 

गोपाल योञ्जनको आँखाबाट आँसु झरेको योञ्जन परिवारले कहिल्यै देखेको थिएन तर नारायण गोपालको अन्त्येष्टि सकेर घर फर्केपछि कोठा थुनेर गोपाल योञ्जन रोएको हृदयविदारक दृश्य योञ्जन परिवारले अहिलेसम्म भुल्न सकेको छैन।

गोपाल योञ्जनसँग ३४ वर्ष र नारायण गोपालसँग झन्डै २८ वर्ष अत्यन्त निकट रहेका नगेन्द्र थापाले पनि अहिलेसम्म ‘मीतज्यू’ को सहकार्य टुट्नुको रहस्य पत्ता लगाउन सकेका छैनन्। नगेन्द्र भन्छन्, ‘सायद, मेरो चित्त दुख्छ भनेर होला दुवै जनाले मसँग कहिल्यै त्यो कुरा गरेनन् तर सांगीतिक सहकार्य नभए पनि मसँग एकसाथ भेट हुँदा दुई गोपालबीच उत्तिकै आत्मीय सम्बन्ध थियो।’ गोपाल योञ्जनको आँखाबाट आँसु झरेको योञ्जन परिवारले कहिल्यै देखेको थिएन तर नारायण गोपालको अन्त्येष्टि सकेर घर फर्केपछि कोठा थुनेर गोपाल योञ्जन रोएको हृदयविदारक दृश्य योञ्जन परिवारले अहिलेसम्म भुल्न सकेको छैन। यसबाट पनि दार्जिलिङको महांकाल डाँडादेखि काठमाडौंको खाल्डोसम्म ‘मीतज्यू’ को भावनात्मक सम्बन्ध कहिल्यै क्षय नभएको पुष्टि हुन्छ। 

नारायण गोपाल र गोपाल योञ्जनका घनिष्ठ मित्र नगेन्द्र थापा।

नारायण गोपाल र गोपाल योञ्जन दुवैको परिवारको सदस्यसरह रहेका प्राध्यापक डाक्टर विश्वम्भर प्याकुर्‍याल आफ्नो कृति ‘आफैंलाई खोज्दा’ मा लेख्छन्, ‘नारायण गोपाल र गोपाल योञ्जन केही समय संगीत र गायनमा सँगै थिएनन् भन्नेबित्तिकै उनीहरूबीचका सम्पूर्ण सम्बन्धको डोरी यति सजिलै चुडिँयो?’ प्याकुर्‍याल लेख्छन्, ‘मसँग एकसाथ भेट्दा दुई गोपाल उत्तिकै आत्मीय देख्थें, दुवै जनाले एकअर्काका बारेमा एक शब्द आलोचना गरेको पाइनँ।’

सांगीतिक क्षेत्रमा लागेकामध्ये कसैको गला उत्कृष्ट हुन्छ त कसैको कला। कला, गलासहित कलम पनि उत्कृष्ट हुने भने विरलै हुन्छन्। चेतन कार्कीकै शब्दमा कला, गला र कलम तीनै विधामा उत्तिकै सशक्त थिए गोपाल योञ्जन। उनले चाहेको भए आफूले लेखेका गीतमा आफ्नै स्वर पनि दिन सक्थे। उनको स्वर पनि उत्तिकै माधुर्यले भरिएको थियो। तर उनले त्यसो गरेनन्। 

‘गोपाल योञ्जन नभएको भए नारायण गोपालको संगीतयात्रामा धेरै फरक पर्थ्याे, जुन तहको नारायणको स्वर थियो, त्यो स्वरलाई रमझम पार्ने र अझ उचाइमा पुर्‍याउने काम गोपाल योञ्जनको संगीतसहित कालजयी शब्दले गरेकै हो।’ 

‘मीतज्यू’ (नारायण गोपाल) को अझ स्वर राम्रो छ भनेर आफ्ना कालजयी गीतहरू (यति चोखो यति मिठो..., गल्ती हजार हुन्छन्..., जीवनदेखि धेरै धेरै नै थाकेर..., मेरो गीत मेरै प्रतिबिम्ब होइन....) मीतज्यूकै गलाबाट गाउन लगाए। नगेन्द्र थापा पनि स्वीकार गर्छन्, ‘गोपाल योञ्जन नभएको भए नारायण गोपालको संगीतयात्रामा धेरै फरक पर्थ्याे, जुन तहको नारायणको स्वर थियो, त्यो स्वरलाई रमझम पार्ने र अझ उचाइमा पुर्‍याउने काम गोपाल योञ्जनको संगीतसहित कालजयी शब्दले गरेकै हो।’ 

गीतसंगीतका विषयमा गोपाल योञ्जनको सोच अत्यन्त दार्शनिक पाइन्छ। बागीनामा उनी लेख्छन्, ‘एक अर्थमा बालकले आमाको गर्भबाट बाहिर आउनासाथ गरेको क्रन्दनको च्याँ पनि गीतै हो। अनि मृत्युपछि गरिने आलापविलाप र चीत्कार पनि गीतै हो। अर्थात् मान्छेले आफ्नो जन्म र मृत्युबीचको यात्रामा कुनै न कुनै समय र अवस्थामा गाएकै हुन्छ। फरक यति मात्र हो– कसैलै तरुणीको चुराको छमछम–तालमा गाउँछन्, कसैले ढिलो गरेर भान्सामा आउने पतिको प्रतीक्षामा दालभातको फत्काइकै तालमा गाउँछन्। यस्तै कोहीको भट्टीभित्र रक्सीको तालमा गाउँछन्, कोही मन्दिरभित्र भक्तिभावमा गाउँछन्– कोही स्नानकक्षमा नुहाउँदै गाउँछन्। यसरी हाँस्नु–रुनु जस्तै गाउनु पनि मानिसको जीवनको एक सहज प्रवृत्ति हो।’ 

गोपालले नै नेपाल र नेपालीका लागि देशप्रेमसँग सम्बन्धित यस्ता सशक्त गीतहरू (देशले रगत मागे..., बनेको छ पहराले यो छाती मेरो..., धेरै छ गर्नु स्वदेशको सेवा....लगायत) दिएका छन्। जबजब नेपालको राष्ट्रियतामाथि धावा बोलिन्छ, देशभक्तिका लागि गोपालकै स्वरमा हिमाल, पहाड र तराई एकसाथ जुर्मुराउँछ।

आफूमाथि ‘प्रवासी’ को ट्याग झुन्ड्याइए पनि गोपाल योञ्जनले नै नेपाल र नेपालीका लागि देशप्रेमसँग सम्बन्धित यस्ता सशक्त गीतहरू (देशले रगत मागे..., बनेको छ पहराले यो छाती मेरो..., धेरै छ गर्नु स्वदेशको सेवा....लगायत) दिएका छन्। जबजब नेपालको राष्ट्रियतामाथि धावा बोलिन्छ, देशभक्तिका लागि गोपालकै स्वरमा हिमाल, पहाड र तराई एकसाथ जुर्मुराउँछ। ‘छातीमा मेरो यो छोटो भोटो...,च्याङ्बा ओइ च्याङ्बा... लगायतका लोकलयमा आधारित उनका सदाबहार लोकगीत नेपाली भाषी सबैको मानसपटलबाट कहिल्यै विस्मृत नहुने खालका छन्। खेलकुदका लागि उनको ‘खेलाडी हो खेलाडी...’ बोलको गीतले खेलाडीमा अद्वितीय रक्तसञ्चार गर्ने स्वयं खेलप्रेमीले स्वीकार गरेका छन्। 

नारायण गाेपाल।

चेतन कार्कीको सहकार्यमा कान्छी, सिन्दूर, विश्वास, मायाप्रीतिलगायतका चलचित्रमा उनले दिएको संगीत उत्तिकै बेजोड छन्। उनले घात, प्रतिघात अनि मातका गीतहरू पनि बहुत सानदार शैलीमा लेखे। बालगीत, प्रेमगीत, भक्तिगीतसहित उनले हरेक विधाका गीत गाए। ‘गीतसंगीत सस्तो लोकप्रियताका लागि होइन सुसंस्कृत समाजको आधारशिला हुनुपर्छ’ भन्ने उच्च मान्यता राख्ने गोपाल योञ्जनबाट दीक्षित भई स्थापित भएका संगीतकर्मीको सूची लामै छ। गाेपालले उनीहरू धेरैलाई आफ्नै छोराछोरीसरह पढाए, आफ्नै घरको भात खुवाए, आर्थिक अवस्था कमजोर भएका कतिलाई आर्थिक सहयोगसमेत गरे। संगीतलाई साहित्यसँग जोड्नैपर्छ भन्ने उच्च सोचका गोपालले गहन अध्ययनअनुसन्धानपछि माध्यमिक स्तरको पाठ्यपुस्तक ‘सङ्गीताञ्जलि’ प्रकाशित गरे। ‘बागीना’ प्रकाशनमा बलबुँताले भ्याएसम्म नारायण गोपाल र नगेन्द्र थापालाई सहयोग गरे। 

संगीतलाई साहित्यसँग जोड्नैपर्छ भन्ने उच्च सोचका गोपालले गहन अध्ययनअनुसन्धानपछि माध्यमिक स्तरको पाठ्यपुस्तक ‘सङ्गीताञ्जलि’ प्रकाशित गरे। ‘बागीना’ प्रकाशनमा बलबुँताले भ्याएसम्म नारायण गोपाल र नगेन्द्र थापालाई सहयोग गरे।

गोपालले आफ्नो घरको माथिल्लो तलामा खोलेको ‘गोपालय’ मा सङ्गीत सिर्जना, रेकर्डिङ र अनुसन्धानात्मक कृति प्रकाशनको पूर्वतयारी सबैथोक गरिन्थ्यो। एक हिसाबले संगीतकर्मीका लागि पवित्र ‘धाम’ नै बनेको थियो गोपालय। तर केही पात्र भने कृतघ्न प्रमाणित भए। उमेरले आफूभन्दा कान्छो भए पनि गोपाललाई आफ्नो ‘गुरु’ भन्थे चेतन कार्की। ‘गोपालले मसमेत संलग्न चलचित्रमा संगीत दिएपछि मात्र धेरैले मलाई ‘चेतन कार्की’ भनेर चिनेका हुन्।’ त्यसलै गोपाल आफ्नो ‘गुरु’ भएको कार्की सगर्व सुनाउँथे। 

भूपि शेरचनमार्फत गोपाललाई चिनेका कार्की उनको सादगी जीवन र समाजसेवाबाट निकै प्रभावित थिए। कार्कीका अनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाले झैं जाडोयाममा मार्निङवाकमा जाँदा पातलो कपडा लाएर कामिरहेको व्यक्ति देखेमा गोपाल आफूले लगाएको लङ कोट फुकालेर दिन्थे। 

गीतसंगीतमार्फत धाराप्रवाह रुपमा जीवन दर्शन दिन सक्ने अद्भूत तथा आलौकिक विरल क्षमता गोपाल योञ्जनमा भेट्न सकिन्छ। गोपाल योञ्जनको कलमबाट निस्किएर उनकी छोरी सिर्जनासहित हजारौंले जीवनदीक्षा मानेको गीतका अंश :

१. संसारसँगै तँ घुम्दै जा
अनि सारा संसार तेरै हो 
उड्दै छुन सकिस् भने जून तारासम्म तेरै हो 
भूल हो तेरो भागी हिँड्नु जीवनदेखि डराएर 

२. केवल एक शक्ति मलाई दे प्रभु
तेरा सारा वरदानको उपयोग गरुँ
जुनीभर ईश्वर म सुकर्म गरुँ 
अनि हाँस्दै एक दिन तेरो काख परुँ 

३. जुनीभर अर्जेका कमाइहरूलाई 
तेरो माटाभरी म फालेर जान्छु 
ए संसार तेरो म केही लानेछैन, 
म जिउको लुगासम्म फालेर जान्छु। 
 
महाकवि लक्ष्मीप्रसाद देवकोटाका अमर रचना र उनीसँग सम्बन्धित सामग्रीको संरक्षण गर्न नसक्ने राज्यले गोपाल योञ्जनका संगीत सामग्रीको संरक्षणमा चासो नदेखाउनु कुनै नौलो होइन। त्यसलै योञ्जन पत्नी रिन्छिनको अथक प्रयासका कारण गोपाल योञ्जनका संगीत सामग्री अहिले अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध Cornell University को पुस्तकालयमा संग्रहित गरिएका छन्। Cornell University मा यसअघि कुनै पनि संगीतकर्मीका सामग्री संग्रहित गरिएका थिएनन्। 

‘गोपाल यस्तो दुर्लभ र गुणग्राही कलाकार थियो जसले अरुबाट हासिल गरेका कुरा कहिल्लै बिर्सेन, गुरुप्रति (अम्बर गुरुङ लगायत) सधैं  भक्तिभाव देखाउँथ्यो। उसको यही स्वभावले उसलाई अझ महान् बनाएको थियो।’

पिटर जे कार्थकले लेखेका छन्, ‘गोपाल यस्तो दुर्लभ र गुणग्राही कलाकार थियो जसले अरुबाट हासिल गरेका कुरा कहिल्लै बिर्सेन, गुरुप्रति (अम्बर गुरुङ लगायत) सधैं  भक्तिभाव देखाउँथ्यो। उसको यही स्वभावले उसलाई अझ महान् बनाएको थियो।’ कार्थकका अनुसार गोपालले आफ्नो सांगीतिक प्रारम्भ बिन्दुलाई ऊ प्रसिद्धिको शिखरमा हुँदा वा ऊ आफैं एउटा ‘इन्स्टिच्युसन’ बनिसकेको अवस्थामा पनि कहिल्यै बिर्सेन। त्यसलै गोपाल योञ्जन सबैका प्रिय थिए, छन् र रहिरहनेछन्। 
 

प्रकाशित: May 21, 2021| 08:49 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।