काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आफू नयाँ बन्ने प्रधानमन्त्रीका लागि दाबी गर्ने प्रयासमा रहेको बताएका छन्।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
‘प्रतिनिधिसभाको सदस्यको हिसाबमा मैले दाबी गर्न सक्छु। मसँग १२१ मतभार छ। त्यही भएर अलि सजिलो होला कि। समर्थन पाए र भरपर्दो आधार लागे राष्ट्रपतिले मलाई प्रधानमन्त्री बनाउनुहुन्छ,’ उनले भने। उनले फेरि आफू प्रधानमन्त्री बने एक महिनाभित्र विश्वासको मत लिने बताए। ‘सरकार बनाएँ भने एक महिनाभित्र विश्वासको मत लिनेछु। त्यसबेला पनि विश्वासको मत दिएन भने संसद् विघटन गर्यो भन्न पाइने छैन।’
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिएकी छन्।