काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी र नेपाली कांग्रेस मिल्दा हुने संख्या दूध उम्लिएजस्तै भएको टिप्पणी गरेका छन्।
बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले भने, ‘दुई पार्टी मिले ११० बन्छ, त्यतिले सरकार बन्छ र? जसपाले सहमत गरेको थाहा त छैन। १२१ त मैसँग छ।’
देशलाई चुनावमा नलैजाउँ, मलाई सहमत गर्नुस् भनेर आफूले भनिरहेको उनले दोहोर्याए। ‘सरकार पनि बनाउन नसक्ने, बन्न पनि नदिने। मलाई लखेट्ने अनि मैले सरकार किस्तिमा चढाइदिनुपर्ने? उहाँ त कपडा बुन्ने तानको जस्तो दक्षिण उत्तर गरिरहनु भएको छ। यो किन?’
चुनावमै देश गए पनि आकाश नखस्ने बताउँदै उनले भने, ‘यो संवैधानिक प्रक्रिया हो। स्वतन्त्र र शान्तिपूर्ण चुनाव गराउनुपर्छ। निर्वाचनसँग भागेर कहीँ पुगिँदैन। हामीले फेस गर्नुपर्छ। जनताको मूल्यांकन थाहा पाएर पाएको अभिमत स्वीकार्नुपर्छ। अहिले पाँच वर्ष जसरी चलाउँछौं भनेको कुरा प्रचण्ड र माधव नेपालले स्वीकारेको भए यो अवस्था आउने थिएन।’ अस्थिरताको खेती गरेर लोकतन्त्रको कुरा गर्नु शोभनिय नहुने उनले बताए।