काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त गर्दा संविधानमाथि थिचोमिचो कसरी भयो भनेर प्रश्न गरेका छन्।
बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘संविधानमाथि कसले गर्यो थिचोमिचो, मार्गप्रशस्त गर्दा थिचोमिचो हुने हो र?’
विपक्षीहरू उपयुक्त विकल्प पनि दिन नसक्ने र देशलाई तनाव तथा घृणातिर लैजाने खेलमा रहेको उनले आरोप लगाए।
‘आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेर सरकार बनाउन भनेँ। तर, उहाँले हामी प्रतिपक्षमा बसेर शान्त, संयमित भूमिकाका साथ प्रस्तु हुने कुरा गर्नु भयो,’ उनले भने, ‘आउनुस् मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ पनि भनेँ। राष्ट्रिय राजनीतिलाई विभाजित बाटोमा नलगी उपयुक्त विकल्प दिनुस् म सहयोग गर्न तयार छु पनि भनेँ। उहाँहरू त्यो पनि गर्न नसक्ने र तनाव तथा घृणातिर लैजाने खेलमा हुनुहुन्छ।’
सबै मिलेर कोरोनाविरुद्ध लड्न र सरकार बनाउन छलफल गरौं पनि भनेको उनको भनाइ छ।
‘विश्वासको मतले हार्दा ५ मा जाने हो भने ५ मै जाउँन त भन्ने कुरा के यो संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, आजको आवश्यकता र कोरोना विरुद्ध लड्ने कुरा विरुद्ध हुन्छरु, ’ उनले भने।