काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कामै गर्न नदिइएको गुनासो गरेका छन्।
आज शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘सरकारलाई काम गर्न दिएनन्, वैकल्पिक सरकार पनि दिन सकेनन्। अढाइ महिनासम्म प्रतीक्षा र अर्को सरकारको विकल्प नदिँदा मैले विश्वासको मत मागेँ। मैले सहमतिका साथ अगाडि बढ्न तयार छु भनेँ। त्यसमा पनि उहाँहरू सहमत हुनु भएन।’
उनले थपे, ‘मैले राष्ट्रिय राजनीतिलाई यतिबेला वैकल्पिक सरकार बन्न सक्दैन भने मलाई समर्थन दिनुस् भनेर संसदमा विश्वासको मत माग्दा भनेको थिएँ। विश्वासको मत नदिनका लागि राष्ट्रिय राजनीतिमा फोहोरी चक्रव्यूह तयार भयो। विश्वासको मत नपुगोस् भन्नका लागि दलहरूभित्रै विग्रह भयो। दलको मूल्यमान्यता छोडेर दलभित्रैबाट समेत असहयोग भयो। २७ जना मान्छे लोकतान्त्रिक मान्यता विपरीत विपक्षीसँग मिलेर सरकार ढाल्ने प्रयासमा लागे। लोकतान्त्रिक मूल्यमान्यता र नैतिकता रहेन,’ उनले भने।
आफूलाई हराउन दलीय मर्यादा उठाएर संसदमा उपस्थित नहुनेसम्मका गतिविधि भएको उनले गुनासो गरे।