काठमाडौं - नेकपा एमालेको असन्तुष्ट माधव-झलनाथ पक्षले आन्तरिक छलफल सुरु गरेको छ। पछिल्लो राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको एक नेताले जानकारी दिए।
‘परिस्थिति व्यवस्था नै सिध्याउने खेल भइरहेको छ। आन्तरिक विवादभन्दा पनि देशलाई नै संकटमा लैजाने अर्को खेल सुरु गरिएको छ,’ उनले भने, ‘कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफल गरिरहेका छौं।’
नेताहरू बिहानैदेखि भर्चुअल माध्यमबाट छलफल गरिरहेको ती नेताले जानकारी दिए। ‘केपी ओलीले पार्टी मात्रै होइन देश नै चौपटमा पार्दैछन्। यो अवस्थामा के गर्ने भन्ने छलफल भइरहेको छ,’ उनले भने।
मुलुकलाई अस्थिरतातर्फ धकेल्नका लागि विभिन्न खेलहरू भइरहेकाले अब निर्णायक निष्कर्षमा पुग्नै पर्ने अवस्था देखिएको उनले बताए। ‘हामीले अस्ति नै राजीनामा दिएको भए केपी ओलीले यो कदम चाल्नै पाउने थिएनन्,’ उनले भने, ‘बीचमा दुर्घटनाबाट जोगाउन राम्रो समय थियो। अहिले त्यो स्थिति रहेन। राजीनामा दिने अन्तिम तयारी भएकै बेला विवाद समाधान गर्ने बहानामा भाँड्ने काम भयो।’
आन्तरिक विवाद समाधानका लागि भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वैशाख ३० गते सघन वार्ता भएपछि माधव-झलनाथ पक्षले राजीनामाको निर्णय तत्कालका लागि स्थगित गरेको थियो।
वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपतिले सोही दिन संविधानको धारा ७६(२) बमोजिम सरकार गठनका लागि तीन दिनको समय दिएर आह्वान गरेकी थिइन्। जसपाको एकमत नहुनु र माधव नेपाल पक्षले राजीनामा समेत नदिएपछि बहुमत पुग्ने अवस्था नदेखिएको भन्दै कांग्रेस, माओवादी केन्द्रले सरकार गठनका लागि दाबी नै पेस गरेनन्।
जसकारण वैशाख ३० गते राति नै राष्ट्रपतिले उपधारा ३ बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतले पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरिन्।
सो उपधारा बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ मा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। तर, बिहीबार प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने र उपधारा ५ बमोजिम सरकार गठनका लागि मार्गप्रशस्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरे। लगत्तै राष्ट्रपतिले उपधारा ५ बमोजिम सरकार बनाउका लागि आज बेलुका ५ बजेसम्मको समय दिएकी छन्।
ओलीले राजीनामा नै नदिएर अर्को सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक कदम भएको राजनीतिक दल र कानुनविद्हरूले बताइरहेका छन्। यही बीचमा ओलीले जसपाको महन्थ राजेन्द्र पक्षलाई समेत मनाइसकेका छन्।
ओलीले पुनः उपधारा ५ बमोजिम आफू नै प्रधानमन्त्री नियुक्त हुन खोजेका छन्। सम्भवतः आज बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेस नभएमा राष्ट्रपतिले जसपाको महन्थ-राजेन्द्रसमेत सरकारमा सहभागी हुने गरेर ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने देखिएको छ।