काठमाडौं– नेकपा एमालेले जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न सरकारलाई सुझाव दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीकै अध्यक्षतामा बसेको आज बसेको स्थायी कमिटीको बैठकले यस्तो सुझाव दिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। ‘भ्याक्सिन लगायत आवश्यक स्वास्थ्य सामग्रीका लागि सबै तहका सरकारमा समन्वय आवश्यक छ,’ उनले भने,‘कुनै कानुनी समस्या भए त्यसको पनि समाधान गरेर जनताको जीवन रक्षा गर्न सुझाव दिइएको छ।’
बागमती प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्दै कतिपय नेता जनप्रतिनिधिहरुले सार्वजनिक धारणा राखेको विषयलाई पार्टीले गम्भीर ढंगबाट लिएको उनले जानकारी दिए।
बैठकमा प्रधानमन्त्रीले महामारीको बढ्दो प्रकोप र यसका विरुद्ध सरकारले गरिरहेका प्रयासहरुका बारेमा जानकारी गराएका थिए। यस्तै बैठकले सरकारले गरेका प्रयासहरु सकारात्मक रहेको निष्कर्ष निकाल्दै बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधी र स्वास्थ्य सामग्रीहरुको कुनै कमी हुन नदिन, एकीकृत ढंगले कोभिडविरुद्ध लड्नका लागि आवश्यक कानुनी र संरचनाको व्यवस्था गर्न एवम् जनताको जीवन रक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ।