काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रण बाहिर गइसकेको भन्दै सरकारलाई थप जिम्मेवारी बन्न सजग गराएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन्।
कांग्रेसले आमनेपाली जनतालाई तत्काल खोपको सुनिश्चित गर्न, पीसीआर परीक्षणको दायर बढाउन, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारमा छानबिन गर्नुपर्ने लगायतका १५ बुँदे माग सरकारसमक्ष राखेको छ।
बढ्दो संक्रमण र भविष्यमा नयाँ भेरियन्टबाट हुन सक्ने तेस्रो चरणको संक्रमणबाट नेपाली जनतालाई सुरक्षित राख्न तत्काल आमजनतालाई खोपको सुनिश्चित गर्न ज्ञापनपत्रमा माग गरिएकाे छ। खोप ल्याउनका लागि बिचौलियाको भर नपरी कूटनीतिक पहल तीव्र पार्न कांग्रेसले सरकारसँग माग गरेकाे छ।
‘देशका हरेक जिल्लामा आवश्यकताअनुसार अस्पताल बेड, अक्सिजन, आईसीयू र भेन्टिलेटरसहितको अस्पताल र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गरियोस्।’
यस्तै कांग्रेसले पहिलो चरणमा स्वास्थ्य सामग्री आपूर्तिमा देखिएको अनियमितता, भ्रष्टाचार तथा अहिले भ्याक्सिन आपूर्तिमा देखिएको कमिसनतन्त्रको सम्बन्धित निकायबाट स्वतन्त्र रुपमा छानविन गर्ने वातावरण सुनिश्चित गर्न पनि ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीसँग माग गरेको छ।
कांग्रेसले अक्सिजनको चरम अभाव हटाउन अक्सिजन कन्सेनट्रेटर, अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डर तत्काल आपूर्ति सुनिश्चित गरी पारदर्शी वितरणको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेसले भनेको छ, ‘देशका हरेक जिल्लामा आवश्यकताअनुसार अस्पताल बेड, अक्सिजन, आईसीयू र भेन्टिलेटरसहितको अस्पताल र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गरियोस्।’
संक्रमणको तेस्रो लहरले बालबालिकासमेत गम्भीर रुपमा प्रभावित हुने विज्ञहरुले प्रक्षेपण गरिरहेको स्थितिमा बालबालिकालाई संक्रमणबाट जोगाउने विशेष सचेतना अभियान चलाउन पनि कांग्रेसले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ। साथै संक्रममित हुने सम्भावनालाई ध्यानमा राखी छुट्टै आईसीयू बेड लगायत आवश्यक उपचार पूर्वाधार तयार गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा बढीभन्दा बढी पीसीआर परीक्षणको व्यवस्था गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ। ज्ञापनपत्रमा भनिएको छ, ‘यस्तो परिक्षण हरेक जिल्लाहरुमा गर्ने व्यवस्था मिलाइयोस्। स्वाब संकलनका लागि घुम्ती टोलीको व्यवस्था गरी छिटो परीक्षणको नतिजा दिने व्यवस्था मिलाइयोस्।’
‘देशका हरेक जिल्लामा आवश्यकताअनुसार अस्पताल बेड, अक्सिजन, आईसीयू र भेन्टिलेटरसहितको अस्पताल र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गरियोस्।’
निम्न आय भएका दूरदराज क्षेत्रका कोरोना संक्रमित नागरिकहरुको उपचार अत्यधिक महँगो हुन गई अकालमा मृत्यु हुने स्थितिलाई दृष्टिगत गर्दै उपचार शुल्कलाई न्यायोचित गर्न नियमन र सहुलियतको व्यवस्था लागू गर्न र निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ।
कांग्रेसले अक्सिजन लगायत अन्य आवश्यक औषधी आपूर्तिमा देखिएको कार्टेलिङ, कालाबजारी र जम्माखोरीलाई तत्काल रोक्न माग गरेको छ। यसैगरी कोभिड—१९ रोकथाम र उपचारका साथै कोभिड प्रभावित निम्न आय भएका आम नागरिक, श्रमिक वर्ग र श्रमजीवी पत्रकार, साना र मध्यम स्तरका व्यवसायीहरुको जीवन निर्वाहको आवश्यकतालाई लक्षित गरी आर्थिक राहत प्याकेजको व्यवस्था गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ।
ज्ञापनपत्रमा उल्लेख छ, ‘उद्योग व्यवसाय बन्द भएको अवस्थालाई ध्यानमा राखी पुनर्कर्जा सुविधा र व्याजमा सहुलियत दिने व्यवस्था मिलाइयोस्।’ हरेक प्रदेशमा सुविधा सम्पन्न अस्पताल र देशको हरेक जिल्लामा न्यूनतम सुविधायुक्त स्वास्थ्य पूर्वाधारको सुनिश्चितता गर्न पनि कांग्रेसले माग गरेको छ।
यसैगरी आइसोलेसनमा रहेका संक्रमितहरुको मनोबल उच्च राख्न स्वास्थ्य तथा मनोवैज्ञानिक परामर्श दिने र उनीहरुको जिज्ञासालाई सम्बोधन गर्न हरेक जिल्लामा स्वास्थ्य परामर्श सेवा हटलाइनको व्यवस्था गर्नुपर्ने माग ज्ञापनपत्रमा छ।
कांग्रेसले प्राविधिक स्वास्थ्य सचिवको तत्काल नियुक्ति गर्न, कोभिड—१९ संकट व्यवस्थापन केन्द्रको वर्तमान संरचना असफल भएकाले प्रभावकारी संयन्त्रको व्यवस्था गर्न र प्रदेश सरकारहरुको कोभिड—१९ संक्रमण रोकथाम र उपचार संरचनालाई मजवुत गर्न पनि माग गरेको छ।
‘स्थानीय तहलाई आवश्यक साधन, स्रोतको व्यवस्था गरी संक्रमणको प्रभावकारी रोकथाम, कन्ट्याक्ट ट्रेसिङ, संक्रमितरुको आइसोलेसन, प्रारम्भिक स्वास्थ्य परामर्श र उपचारको पहुँचमा पुर्याउने व्यवस्थाका लागि जिम्मेवारी दिइयोस्।’
यस्तै कोरोना संक्रमण रोकथाम र उपचार व्यवस्थापनका लागि स्थानीय सरकारलाई थप जिम्मेवारी दिन कांग्रेसले माग गरेको छ। ज्ञापनपत्रमा भनिएको छ, ‘स्थानीय तहलाई आवश्यक साधन, स्रोतको व्यवस्था गरी संक्रमणको प्रभावकारी रोकथाम, कन्ट्याक्ट ट्रेसिङ, संक्रमितरुको आइसोलेसन, प्रारम्भिक स्वास्थ्य परामर्श र उपचारको पहुँचमा पुर्याउने व्यवस्थाका लागि जिम्मेवारी दिइयोस्।’
सीमा नाका र अन्तर्राष्ट्रिय हवाई अड्डाबाट आवत—जावतलाई पीसीआर परीक्षण र अन्य कोभिड—१९ मापदण्डको सुदृढ व्यवस्थापनका आधारमा नियमन गर्न र विदेशमा जाने श्रमिकको पीसीआर परीक्षणमा गरिएको कार्टेलिङको अन्त्य गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
यसैगरी थप संक्रमण फैलिन नदिन र नागरिकलाई संक्रमणबाट बचाउन मास्क अनिवार्य लगाउने, साबुनपानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र प्रभावकारी बनाउन कांग्रेसले माग गरेको छ। ज्ञापनपत्र बुझाउन कांग्रेस सभापति शेरबहादुर देउवासहितको टोली सिंहदरबार पुगेको थियो।