काठमाडौं– नेकपा माओवादी (केन्द्र)ले कोभिड रोकथाम र नियन्यत्रणका लागि बनाइएको संयन्त्र सीसीएमसी खारेज गर्न माग गरेको छ। उक्त संयन्त्र संवैधानिक नभएकाले खारेज गर्नुपर्ने माग माओवादीले गरेको हो।
माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा आज बिहीबार बसेको स्थायी कमिटी बैठकले कोरोना महामारी नियन्त्रण र रोकथामा लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि शुक्रबार ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ।
कोरोना संक्रमण तीव्र गतिमा बढिरहेका बेला सरकार स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचारमा लिप्त भएको तथा रोकथाम र नियन्त्रणमा असफल भएको निष्कर्ष बैठकले निकालेको स्थायी कमिटी गणेश शाहले जानकारी दिए।
‘यो सरकार कोभिड १९ नियन्त्रण गर्नमा असफल भएको देखिएको छ। मूल रुपमा कमिसनको चक्करमा फसेको देखिएको छ,’उनले भने, ‘हामीले भण्डाफोर कार्यक्रम चलाउने निष्कर्ष निकालेका छौं।’
पार्टीले पनि एउटा कोष खडा गर्ने निर्णय गरेको उनले जानकारी दिए। त्यस्तै आवश्यक स्वास्थ्य उपकरण र सामग्रीको व्यवस्थापन गर्नका लागि माओवादीले पनि अग्रसरता लिने निर्णय गरेको छ।
स्थायी कमिटी बैठकले पार्टीका केन्द्र, प्रदेश र स्थानीय कमिटीलाई कोरोना रोकथाम र नियन्त्रणका लागि अझै क्रियाशील बनाउने निर्णय पनि गरेको उनले जानकारी दिए। उनले भने, ‘कोभिड विरुद्धको भ्याक्सिन ल्याउने कूटनीतिक प्रयास जारी राख्ने पनि निर्णय भएको छ।’