काठमाडौं– अपरिचित समूहले चलाएको गोलीबाट कपिलवस्तुमा दुई जना घाइते भएका छन्।
कपिलवस्तु नगरपालिका–३ सड्वास्थित सडकमा अपरिचित समूहले चलाएको गोलीबाट नगरपालिका–१ का ३४ वर्षीय दीपक पाण्डे र भारत सिद्धार्थनगर चेतारी नगरका–२६ वर्षिय ईयाज अख्तर मुसलमान घाइते भएका प्रहरीले जनाएको छ।
गोली चलाउने शंकास्पद ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। लु ९ प ८५२१ नम्बरको मोटरसाइकलमा जलैया खोेलाबाट तौलिहवातर्फ आउँदै गरेका उनीहरुमाथि नम्बर प्लेट नखुलेका तीन जना अपरिचित व्यक्तिले गोली प्रहार गरेको प्रहरीले बताएको छ।
प्रहरीले घाइते भएका इयाजलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाएको छ भने दीपकलाई भैरहावा मेडिकल कलेज पठाएको छ। घटनास्थलबाट प्रहरीले १ थान खोका, १ राउन्ड लाइभ बुलेट र १ थान चप्पल बरामद गरेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–१ नयाँ टोलका १९ वर्षिय राजेश राउतसहित ७ जनालाई नियन्त्रणमा लिएकोे छ। प्रहरीले घटनाको थप अध्ययन गरिरहेको बताएको छ।