विराटनगर– बिरामीलाई हेर्न आएका दुई जनाको मोरङको पथरीशनिश्चरेमा बुधबार राति भएको दुर्घटनामा परेर मृत्यु भएको छ।
दुर्घटनामा अरु तीन जना घाइते भएका छन्। आफन्तलाई हेर्न आउने क्रममा पाँच जना सवार रहेको मे १ च १८५१ नम्बरको गाडी पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ जय चोकमा राति १२ बजेतिर दुर्घटनामा परेको हो
प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार दुर्घटनामा झापाको झापा गाउँपालिका–५ का ५३ वर्षीय लक्ष्मीप्रसाद पौडेल र मोरङको रङ्गेली नगरपालिका–३ रञ्जनीकी ७६ वर्षीया विष्णुमाया शिवकोटीको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमध्ये विष्णुमाया लक्ष्मीप्रसादकी सासूआमा हुन्।
दुवै जनाको शवलाई पोस्टमार्टमका लागि मोरङ उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएको छ। दुर्घटनामा परेर चालक झापा बिर्तामोड नगरपालिका–२ चारपानेका ३३ वर्षीय विकाश उप्रेती, झापा गाउँपालिका–२ की ४५ वर्षीया विनिता पौडेल र झापा हल्दिबारी गाउँपालिका–५ का २५ वर्षीय रोशन उप्रेती घाइते भएका छन्। घाइतेहरुको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये विनिता र रोशनको अवस्था गम्भीर छ। चालकको अवस्था सामान्य रहेको एसपी शर्माले बताए।
प्रहरीले घटनास्थलबाट शंकास्पद रुपमा एउटा नम्बर प्लेट फेला पारेको छ । दुर्घटनास्थलमा ना २ ख ९४७३ नम्बरको प्लेट फेला परे पनि घटना गराउने सवारी साधनको पहिचान हुन नसकेको एसपी शर्माले बताए । दुर्घटना बस या ट्रकमध्ये एउटा सवारी साधनले गराएको हुनसक्ने उनको अनुमान छ ।