काठमाडौं– नयाँ पुनर्बिमा कम्पनीको लाइसेन्सका लागि ५ वटा कम्पनीले प्रस्ताव पेश गरेका छन्। बिमा समितिका अनुसार अन्नपूर्ण रि, काठमाडौं रि, प्रेडेन्सियल रि, हिमालयन रि, जेन्युन रि गरी पाँच कम्पनीले लाइसेन्सका लागि आवेदन दिएका हुन्।
गत वैशाख १६ गते २१ दिनको म्याद राखेर बिमा समितिले थप एक पुनर्बिमा कम्पनीलाई अनुमति दिने भन्दै कम्पनीहरुलाई प्रस्ताव आह्वान गरेको थियो।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौड्यालका अनुसार समितिले दिएको समयसिमाभित्र पाँच कम्पनीको प्रस्ताव परेको छ र समितिको मूल्यांकनमा सबैभन्दा बढी नम्बर प्राप्त गर्ने एक कम्पनीले लाइसेन्स प्राप्त गर्नेछ। हाल नेपालमा नेपाल पुनर्बिमा कम्पनीले पुनर्बिमाको काम गरिरहेको छ।
यसअघि नै चार कम्पनीले बिमा समितिमा पेश गरेको प्रस्तावलाई बदर गर्दै समितिले पुनः प्रस्ताव आह्वान गरेको थियो।
समितिले पुनर्बिमा कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँभन्दा बढी हुनुपर्ने व्यवस्था गरेको छ। यसअघि नै पुनर्बिमा कम्पनीमा लगानी गरेका लगानीकर्ताले नयाँ कम्पनीमा लगानी गर्न पाउने छैनन्।
नेपाल पुनर्बिमामा कम्पनीले प्रभावकारी रुपमा व्यवसाय गर्न नसकेको भन्दै तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को कम्पनी दर्ता गरेर प्रतिस्पर्धी वातावरण बनाउन बिमा समितिलाई निर्देशन दिएका थिए। त्यसलगत्तै चार कम्पनीले समितिमा लाइसेन्सका लागि प्रस्ताव पेश गरेका थिए।
विभिन्न व्यापारिक समूह, बैंक तथा वित्तीय संस्थाका साथै वित्तीय क्षेत्रमा क्रियाशिल व्यक्ति, एनआरएनलगायतले लगानीको प्रस्ताव पेश गरेको बताइएको छ। प्रस्ताव केही दिनभित्र खोलिने समितिले जनाएको छ।