बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : आलोचनाकाे डरले प्रदेशसभा बैठक बस्न नदिइएको आरोप

प्रदेश २ : आलोचनाकाे डरले प्रदेशसभा बैठक बस्न नदिइएको आरोप

प्रदेश सरकारले महामारीमा जनताको जनधनको रक्षा गर्न नसकेको भन्दै उनले ‘भोजको बेला तरकारी रोपेको’ भन्दै कटाक्ष गरे।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

जनकपुरधाम- प्रदेश नम्बर २ मा पाँच महिनापछि गत चैत ३० गते प्रदेशसभा बैठक बाध्यात्कमक अवस्थामा डाकिएको थियो।

पाँचौँ अधिवेशनको पहिलो बैठकपश्चात् वैशाख ९ गते दोस्रो बैठक आह्वान भयो। दोस्रो बैठकमा प्रदेशको नाम र राजधानीको लागि दर्ता भएको प्रस्तावमाथि छलफल भएर अर्को बैठक वैशाख १४ गतेको लागि डाकियो। तर, वैशाख १३ गते प्रदेशसभा सचिवालयमा कार्यरत तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरियो।

बैठक स्थगित भएको २३ दिन बितिसकेको छ। संक्रमित कर्मचारी निको भएर घर पनि फर्किइसकेका छन्। तर बैठक अझै अन्यौलमै छ।

नेकपा (एमाले) संसदीय दलका नेता शत्रुधन महतोले बैठक नबोलाएको भन्दै आपत्ति जनाए। ‘ज्यानको डर सबैलाई छ भनेर आफ्नो जिम्मेवारीबाट पन्छिनु गलत हो, उनले भने, ‘वैकल्पिक माध्यमबाट भए पनि बैठक बोलाउनुपर्छ।’
सदन नचल्दा जनताको समस्या सरकार माझ राख्न नसकेको उनले बताए। ‘अहिले प्रमुख दुईवटा विषयमा बैठक बस्नु आवश्यक छ। एक, जनताको जनधनको रक्षा, अर्को अगामी बजेटको तयारी,’ उनले भने, ‘सरकारले छिटो विकल्प दिएन भने जनता निराश हुन्छन्। बिनातयारी हतारमा ल्याउने बजेटमा पनि ठोस योजना समावेश गर्न सकिँदैन।’

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले महामारीमा सरकार निकम्मा साबित भएको तर्क गरे। सरकार गत वर्ष पनि कोरोना महामारी नियन्त्रणमा चुकेको भन्दै अहिलेको भयावह स्थिति सरकारकै कारण सिर्जना भएको उनले आरोप लगाए।

प्रदेश सरकारले महामारीमा जनताको जनधनको रक्षा गर्न नसकेको भन्दै उनले ‘भोजको बेला तरकारी रोपेको’ भन्दै कटाक्ष गरे। ‘सरकार बेकामे छ, सदन चल्दा उसको आलोचना हुन्छ, उनले भने, ‘सरकारले आफ्नो नाकामी लुकाउन बैठक नै बस्ने वातावरण बन्न दिएको छैन।’

प्रदेश–२ मा कोरोना संक्रमणको अवस्था भयावह छ। सरकारको काम प्रभावकारी देखिएको छैन। संक्रमितले भेन्टिलेटर र अक्सिजन अभावमा ज्यान गुमाइरहेका छन्। कोभिड अस्पताल सञ्चालमा समेत ढिलाइ भइरहेको छ भने भएको अस्पतालमा जनशक्ति र साधन–स्रोत अभावमा बिरामी छटपटाइरहेका छन्। निषेध आदेशसँगै विपन्न वर्गलाई बिहानबेलुकाको छाक टार्न समस्या हुन थालेको नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता भरतप्रसाद साहले आरोप लगाए।

प्रकाशित: May 19, 2021| 12:17 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।