बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘कोरोनाबारे देशभरको समस्या सुनेका छौं, सरकारलाई झकझक्याउँछौं’ 

‘कोरोनाबारे देशभरको समस्या सुनेका छौं, सरकारलाई झकझक्याउँछौं’ 

अन्तरक्रियामा पार्टीले छुट्टै कोभिड फन्ड खडा गरेर काम गर्नुपर्ने आवाज उठेको छ। यो विषयमा हामी सल्लाह गरेर निर्णय लिन्छौं।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

हामीले सात वटै प्रदेशमा सांसद, स्थानीय तहका जनप्रतिनिधि, केन्द्रीय सदस्य, जिल्ला तहका नेता कार्यकर्तासँग कोभिड महामारी र यसका असरका बारेमा छलफल गर्‍यौं। भर्चुअल रुपमा गरिएको अन्तरक्रियामा सबैको साचो र चिन्ता बढ्दै गएको महामारी र यसको नियन्त्रणमा थियो। एकातर्फ संक्रमण र मृत्युदर बढ्दै गएकोमा चिन्ता थियो, अर्कोतर्फ लकडाउनका कारण हातमुख जोड्न समस्या पर्ने वर्गमा परेको असरका बारेमा समेत छलफल भयो। 

यो अन्तरक्रिया मार्फत हामीले देशभरको अवस्था बुझ्याै‌। पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल समेतले देशभरका साथीहरुका कुरा सुन्नुभयो। उहाँहरुमार्फत समस्या बुझ्ने काम भएको छ। 

सबैको चासो र चिन्ता महामारी नियन्त्रणमा सरकार गम्भीर भएन भन्ने नै छ। संक्रमणको पहिलो लहरमा सरकार अलि गम्भीर देखिन्थ्यो। तर, यो पटक लत्तो छाडेको अवस्था छ। जनता रोग र भोक दुवैले मर्ने अवस्था आउँदा समेत सरकार पटक्कै गम्भीर बनेको छैन। उसलाई वास्तै छैन। स्थानीय सरकारहरुले काम गर्न नसक्ने अवस्था सिर्जना भइसकेको रहेछ। स्थानीय तहका जनप्रतिनिधिहरुले काम गर्ने सकेनौं, धेरै अप्ठ्यारो परिस्थिति पैदा भएको छ भनेर भन्नुभएको छ। अक्सिजनको अभावसँगै उपचारको पहुँच भन्दा धेरै मानिसहरु बाहिर रहेको गुनासो स्थानीय तहका प्रतिनिधिहरुको छ। 

यद्यपि आफ्नो बुताले भ्याएसम्म काम गरिरहनुभएको छ। यो भने सुखद् पक्ष नै हो। सरकारले स्थानीय तहरुलाई सहयोगको हात अघि बढाएको छैन। अक्सिजन लगाउनुपर्ने विरामीको संख्या बढ्दै जाँदा सरकार हात बाँधेर बसेको छ। अस्पतालको पहुँचमा धेरै संक्रमित छैनन्, भएकाहरुले पनि अक्सिजन पाएका छैनन्। उपचार महँगो छ। सर्वसाधारणले उपचार गराउन सम्भव नभएको गुनासो समेत आएको छ। उपचार सर्वसुलभ बनाउने र अक्सिजन उपलब्ध गराउने दायित्व सरकारको हो। तर, यतातर्फ सरकारले सोचेको देखिएन। 

सरकारले आफ्ना साधनस्रोतको उच्चतम प्रयोग गरेर युद्धस्तरमा काम गर्नुपर्ने अहिलेको आवश्यकता हो। तर, यो हुन सकिरहेको छैन। अर्को महत्वपूर्ण कुरा भ्याक्सिन पनि हो। तर, भ्याक्सिन कहिले आउँछ, कहाँबाट आउँछ, अत्तोपत्तो छैन। हुन त निजी क्षेत्रले अक्सिजन सिलिन्डर ल्याउँदा सरकारले ल्याएको भनेर प्रचारबाजी गरिन्छ भने यस्तो सरकारबाट के अपेक्षा गर्न सकिन्छ र? 

स्थानीय तहहरुले क्षमताले भ्याएसम्म कोसिस गरिरहेका छन्। केन्द्र र प्रदेशले वास्ता नगरेको उनीहरुको गुनासो छ। अक्सिजन के कति सम्भव हुन्छ, उपलब्ध गराउने कोसिस गरिरहेका छौं भनेर उनीहरुले भनेका छन्। उपचारको पहुँचमा नभएकाहरुलाई उपचारको पहुँचमा पुर्‍याउने काम स्थानीय तहहरुले गरिरहेका रहेछन्। निषेधाज्ञाले हातमुख जोड्न समस्या भएकाहरु बढेको पाइयो। यो अर्को ठूलो समस्या हो। यावत् समस्याहरुसँग स्थानीय तह र हाम्रा जिल्ला स्तरका समितिहरु जुधिरहेका छन्। 

यो अन्तरक्रियामा पार्टीले छुट्टै कोभिड फन्ड खडा गरेर काम गर्नुपर्ने आवाज उठेको छ। यो विषयमा हामी सल्लाह गरेर निर्णय लिन्छौं। अहिले जे सम्भव हुन्छ, त्यो सबैले गरिरहेका छन्। तर, पार्टीले पनि सम्भव भएसम्म फन्ड स्थापना गरेर काम गर्ने विषय पनि उपयुक्त नै हो जस्तो लागेको छ। हामीले विदेशस्थित जनसम्पर्क समितिहरुलाई पनि सहयोगका लागि आग्रह गरेका छौं। तर, फन्ड बनाउने कुरा पार्टीमा छलफल गरेर निर्णय लिनेछौं।

देशभरबाट हामीले जे गुनासा, समस्या सुन्यौं। ती हामी सरकारलाई भन्छौं। डेलिगेसन नै गएर हामी सरकारलाई झकझकाउने छौं। संसदीय दलमा पनि यो विषयमा छलफल हुन्छ। हामी संसदमा कोभिडको विषयमा आवज उठाउने छौं। कोभिडका बारेमा व्यापक छलफल गराउने हाम्रो प्रयास हुनेछ। सँगै हामी देशभर सचेतना अभियानमा समेत संचालन गर्न निर्देशन दिन्छौं। अन्तरक्रियामा पनि हाम्रो निर्देशन यही थियो।

मास्कको प्रयोग गर्ने, हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र दुरी कायम गर्ने लगायतका सचेतना जगाउन पार्टी संयन्त्र प्रयोग हुन्छ। यो बेलामा आफू पनि जोगिने र अरुलाई पनि जोगाउने गरी काम गर्न आवश्यक छ। सरकारलाई कोभिड नियन्त्रणमा गम्भीर बनाउने र भ्याक्सिन सबै नेपालीलाई उपलब्ध गराउन सरकारलाई बाध्य पार्ने गरी कांग्रेस अघि बढ्छ। 

(नेपाली कांग्रेसका सह–महामन्त्री तथा कांग्रेसद्वारा गठित कोभिड–१९ अनुगमन समितिका संयोजकसमेत रहेका महतसँग नेपाल समयले गरेको कुराकानीमा आधारित)

प्रकाशित: May 19, 2021| 11:59 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।