जनकपुरधाम- प्रदेश २ मा कोरोना संक्रमणको भयावह स्थिति आउन नदिनका लागि ८ वटै जिल्लामा निषेध आदेश जारी गरिएको छ।
निषेध आदेशका कारण दिनभर प्रदेश २ का सहरहरु सुनसान हुन्छन् तर बिहान बेलुका बजारमा सामान्य दिनजस्तै भिडभाड हुन्छ। अत्यावश्यक सामान किनमेल गर्नका लागि प्रशासनले केही सीमित समयका लागि निषेध आदेश खुकुलो पारिदिए पनि भिडभाड भने अत्याधिक देखिने गरेकाे छ।
यो त भयो सहर बजारको कुरो तर गाउँघरमा त मानौँ कोरोना संक्रमण नै छैन त्यस्तै भिड हुन्छ। न मास्कको प्रयोग गरिन्छ न त भौतिक दूरी नै। यसरी प्रदेश २ का गाउँगाउँ पनि कोरोना संक्रमणको जोखिममा रहेको पाइएको छ।

वटेश्वर गाउँपालिका वडा नम्बर ५ शान्तिपुरका किसान रामजीवन यादवले दैनिक काम नगरे भोकै बस्नु पर्छ। उनले भने, ‘दैनिकजसो खेतबारीमै व्यस्त हुने भएकाले कोरोना भाइरसबारे सोच्ने फुर्सद कहाँ छ र हामीलाई ? उनले गाईवस्तु स्याहारसुसार गर्ने, दुध दुहुने, बारी तयार गर्ने, घाँस काट्ने काममा व्यस्त भइन्छ।’
ग्रामीण महिलाहरु घरायसी तथा खेतबारीको काम समूह बनाएर गरिरहेका देखिन्छन्। क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ का शिक्षक रामप्रीत यादवले गाउँमा निषेधाज्ञाको कुनै प्रभाव नपरेको बताए। उनका अनुसार गर्मी सुरु भइसकेकाले गाउँघरमा एक ठाउँमा भेला भएर गफिने, तास खेल्ने दिनचर्या नै बनिसकेको छ।
धनुषा जिल्ला समन्वय समितिका सभापति रामदेव यादव बनरैतले पनि निषेध आदेशको प्रभाव गाउँघरमा नदेखिएको बताए। ‘मान्छेहरु बेवास्ता गरेर हिँडिरहेका छन्, कसैको सल्लाह सुझाव मानिरहेका छैनन्,’ उनले भने, ‘सुरुमा गाउँघरका मान्छे पनि अलिअलि डराएका थिए तर अहिले बेवास्ता नै गरिरहेका छन्।’
गाउँगाउँमा कोरोना संक्रमणको जोखिम बढिरहँदासमेत प्रदेश २ का स्थानीय तह सुस्त देखिएको छ। यद्यपि केही स्थानीय तहले भने कोरोनाविरुद्ध लड्न भर्खर तयारी थालेका छन्।

जनकपुरधाम उपमहानगपालिकाले गोपाल धर्मशालामा ३७ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ। त्यस्तै चिकित्सकसहितको ७ वटा सीआइसी टिमको गठन गरेको छ। दुई साता अघिदेखि सञ्चालन भएको आइसोलेसन केन्द्रमा २ जना कोरोना संक्रमित मात्रै त्यहाँ पुगेका छन्। जबकी जनकपुुरधाममा दैनिक दर्जनौँको संख्यामा कोरोनाका संक्रमितहरु थपिदै गएका छन्।
गत वर्ष जनकपुरधाम उपमहानगरपालिकाले सोही स्थानमा क्वारेन्टिन सञ्चालनमा ल्याएको थियो तर बिरामीहरुलाई गरिएको व्यवहार, फितलो व्यवस्थापन अझै स्थानीवासीको मानसपटलमा ताजा रहेकाले पनि सो आइसोलेसन केन्द्र्रमा जानुभन्दा होम आइसोलेसनमै बस्न रुचाइरहेको तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले बताए।
होम आइसोलेसनमा रहेका बिरामीहरुको परामर्शका लागि गठन गरिएको टिम कागजमै सीमित रहेको उनको भनाइ छ।
होम आइसोलेसनमा रहेका एक बिरामीले होम आइसोलेसनमा बसेको साता दिन बितिसक्दासमेत कुनै सरकारी निकायले आफूसँग सम्पर्क नगरेको गुनासो गरे।
उपमहानगरपालिकाले सहरी क्षेत्रमा केही तयारी गरेको देखिए पनि ग्रामिण वडामा भने खासै कुनै तयारी गरेको देखिँदैन।
यता उपमहानगरकी उपप्रमुख रीता मिश्रले कोरोना संक्रमण न्यूनीकरणका लागि उपमहानगर लागि परेको दाबी गरिन्। उनले उपमहानगरले सञ्चालनमा ल्याएको आइसोलेसनमा अक्सिजन, निःशुल्क औषधि, भोजन आदिको व्यवस्था गरेको बताइन्। गठन गरिएको सीआइसी टिम गाउँगाउँ पुगेर कोरोनाका बिरामीहरुसँग समन्वय गरिरहेको उपप्रमुख मिश्रको दाबी छ।
यता धनुषाको मिथिला नगरपालिकाले पीसीआर परीक्षणकोे व्यवस्था गरेको छ। कोरोना संक्रमण गाउँमा बढ्न थालेपछि वडा–वडामा पीसीआर परीक्षणको व्यवस्था मिलाइएको नगर प्रमुख हरिनारायण महतोले बताए। यसबाहेक कुनै पनि स्थानीय तहले कोरोना संक्रमण न्यूनीकरणका लागि खासै पहल गरेको देखिँदैन।
प्रदेश २ सरकारले पनि प्रत्येक स्थानीय तहलाई क्वारेन्टिन र आइसोेलेसन केन्द्र व्यवस्थापन गर्नका लागि आग्रह गरेको छ। कोरोनाको पहिलो लहरमा स्थानीय तहले आ–आफ्नो पालिकामा क्वारेन्टिन व्यवस्थापन गरेका थिए। तर यसपटक कुनै स्थानीय तहले पनि क्वारेन्टिनको व्यवस्थापन गरेको छैन। अघिल्लो वर्ष बन्दाबन्दीबाट प्रभावित विपन्न तथा गरिबलाई राहत वितरणसँगै भारतसहित अन्य मुलुकबाट आएकाहरुलाई क्वारेन्टिनमा लैजाने, संक्रमितलाई आइसोलेसन तथा अस्पतालमै पुर्याउने, कन्ट्याक्ट ट्रेसिङ गरेर संक्रमित खोज्न जनप्रतिनिधि नै लागेका थिए।
एकै गाउँको ४६ जनामा कोरोना पुष्टि
धनुषामा एकै गाउँका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मिथिला नगरपालिका वडा नम्बर ११ लोटा गाउँका ४६ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमितको लक्षणसँग मिल्दोजुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले ५४ जनाको स्वाव संकलन गरी परिक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाएका थियो।
त्यसमध्ये ४६ जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका अधिकृत रचिन्द्र डङ्गोलले जानकारी दिए।
संक्रमितमध्ये जटिल देखिएका दुई जनाको सिन्धुलीमा उपचार भइरहेको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य छ। सामान्य अवस्थाका कोरोना संक्रमितहरु अहिले होम आइसोलेसनमा रहेका छन्।
संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य टोली त्यस गाउँमा खटाएको अधिकृत डङ्गोलले बताए।