काठमाडौं- बालविवाहको विकृति हट्दै गएको छ । सानो उमेरमै प्रेमपछि यौन र भागी विवाह भने रोकिएको छैन । कच्चा उमेरका पति-पत्नीले गर्भनिरोधका लागि गर्भपतनलाई उपाय बनाउँदाको जटिलता भोग्नेहरू पनि बढ्दो क्रममा छन् ।
एक समय थियो, केटीहरूको 'स्विट सिक्सटिन' अर्काको घरमा दुलही बनेर भित्रिने बाध्यताका रूपमा आउँथ्यो । १६ वर्ष कटेपछि बाबुआमाले बोलाउँदा पनि बिहेकै कुरा गर्न खोजेझैं लाग्थ्यो ।
अधिकांश बाबुआमाले छोरीलाई सानैमा विवाह गरेर अर्काको घरमा पठाउने भन्दा पढाएर आत्मनिर्भर बनाउने योजना बुन्छन्, अहिले । पढाइकै क्रममा आफ्नै उमेरका किशोर/युवकसँग बसेको प्रेमले भने उनीहरूलाई यौन सम्पर्क र भागी विवाहका लागि प्रेरित गर्दै आएको छ ।
असुरक्षित यौन
परिपक्व नभइसकेका प्रेम जोडीहरूले यौन सम्पर्कको सुरक्षित विधिबारे जानकारी पाएका हुँदैनन् । जब अनिच्छित गर्भ रहन्छ, गर्भपतनको उपायको खोजी थाल्छन् ।
सबैभन्दा पहिले उनीहरू क्लिनिक चलाएका औषधि पसलमा पुग्छन् । गाउँका प्रेम जोडीको गन्तव्य हुने गर्छन्, स्थानीय स्वास्थ्य चौकी र तिनमा कार्यरत स्वास्थ्यकर्मी ।
गर्भ शुरुवाती चरणको रहेछ भने इकोन, मिसप्रिस्टोन, मिसोप्रोटोलजस्ता चक्कीहरू खुवाएर स्वास्थ्यकर्मीले गर्भपतन गराउँछन् ।
शहर, बजारमा स्थानीय मेरिस्टोप सेन्टरमा पुग्छन्, उनीहरू । मेरिस्टोप केन्द्रहरूले १२ सातासम्मको गर्भ मात्र पतन गराउन मान्छन्, जसलाई सुरक्षित पनि मानिन्छ ।
नयाँ-नयाँ प्रेम जोडीले कन्डोम प्रयोग गर्न झण्झट मान्छन् । जोशको बेला होश गुमाउँछन् र अनिच्छित गर्भ रहन पुग्छ । जबकि, बजारमा महिला-पुरुष दुवैले प्रयोग गर्न मिल्ने कन्डोम पाइन्छ ।
विवाहअघि नै शारीरिक सम्बन्ध
असुरक्षित यौन सम्बन्ध विवाहपछिको मात्र समस्या होइन । विवाहअघि नै पनि शारीरिक सम्बन्धमा बाँधिने गरेका छन्, युवा-युवती । प्रेमको नाममा नजिकिने र शारीरिक इच्छा पूर्ति गर्ने क्रममा गर्भ रहन पुग्छ ।
त्यस्ता जोडीले विवाहको योजना बनाइसकेका हुँदैनन् । परिणाम, गर्भपतनको निर्णयमा पुग्छन् ।
लिभिङ टुगेदरमा बसेका जोडीहरु असुरक्षित यौन सम्बन्धका कारणले असुरक्षित गर्भपतन गर्न बाध्य छन् । विवाहअघिको गर्भ समाजले सहजै स्वीकार्दैन । र, त्यस्ता जोडीका लागि गर्भपतन बाध्यता बन्ने गर्छ ।
पछिल्लो समयमा बढ्दै गएको छ, लिभिङ टुगेदर । नेपाली भाषामा यसका दुई अर्थ लाग्छन्, सँगै बस्नु र सम्भोग क्रियामा सामेल हुनु ।
बिहे नगर्ने तर पति-पत्नीझैं एउटै कोठामा बस्ने अनि सम्भोगमा पनि सहभागी हुने । दुवै क्रिया यस्तो सम्बन्धमा सामान्य विषय बन्ने गर्छन् ।
तर, गर्भ रहन नदिन अपनाइने उपायहरूमा उनीहरूको ध्यान जाँदैन । र, अनिच्छित गर्भ फाल्नुको विकल्प हुँदैन ।
गाउँबाट उच्च शिक्षा हासिल गर्न काठमाडौं या अन्य शहरी इलाकामा आइपुग्ने युवा-युवती 'लिभिङ टुगेदर' बस्ने गरेका छन् । गाउँजति सहज हुँदैन, शहर । यस्ता जोडीले गाउँमा भन्दा शहरमा आफूलाई स्वतन्त्र महशुस पनि गर्छन् । त्यस्तो स्वतन्त्रताले 'पार्टनर' बनाएर यौन सम्बन्ध बनाउन पनि प्रेरित गरेको हुन्छ ।
महँगीको मार बाबुआमाले गाउँबाट पठाउने सानो परिमाणको खर्चबाट थेग्न सकिँदैन । अनि, दुई जनाको खर्चबाट जीवन चलाउन 'लिभिङ टुगेदर'मा बस्छन् । दुवैका परिवारलाई त्यसबारे जानकारी हुँदैन ।
'पार्टनर'लाई नबुझी विवाह बन्धनमा बाँधिदा परम्परागत शैलीबाट बाहिर निस्किन नसकिने बुझाइ आम बन्दै गएको छ, युवा-युवतीमाझ । त्यसैले प्रेमदेखि सम्भोगसम्मका लागि उनीहरू तयार हुने गर्छन् ।
युवा-युवतीले यसलाई साहस मान्ने गर्छन् । तर, त्यसका कारण अनिच्छित गर्भ रहने र विवाह बन्धनअघि नै गर्भपतन गराउने बाध्यतामा पर्छन् ।
बलात्कारमा परेकाहरूका लागि गरिएको कानूनी व्यवस्थाको जथाभावी प्रयोग ।
विवाहित पनि बाध्यतामा
काठमाडौं साँखुकी सानु क्षत्री (नाम परिवर्तन)ले गर्भपतन गराएको ६ महिना बित्यो । पति सोहम खड्का (नाम परिवर्तन)ले उनलाई करकापमा पारेर कान्छी पत्नी बनाएका थिए ।
घरमा थाहा नदिई विवाह गरेका थिए, उनीहरूले । केही वर्ष त्यसलाई गोप्य राखे । यसैबीचमा सोहमकी जेठी पत्नीको मृत्यु भयो । र, काठमाडौं बाहिर रहेको घर फर्किने योजना बनाए । तर, त्यतिन्जेलमा सानु गर्भवती भइसकेकी थिइन् ।
सोहमको व्यवहार परिवर्तन हुँदै गयो । कुटपिट र मानसिक यातना दिन थाले । सानुले गर्भपतन गर्न मानिनन् । अन्त्यमा उनले हार मानिन् र गर्भपतन गराइन् । नगराए मान्छे लगाएर हत्या गर्ने धम्कीसमेत दिन थालेका थिए, सोहमले । अहिले सानु दिदीको घरमा आश्रय लिएर बसेकी छन्, सोहम बेपत्ता छन् ।
छोरीको भ्रुण हत्या
ललितपुर लामाटारकी विमला विश्वकर्मा (नाम परिवर्तन)ले छोरी भएकै कारण दोस्रो पटकको गर्भपतन गराउनुपर्यो । उनकी पहिलो सन्तान पनि छोरी थिइन् । निजी अस्पतालमा लिंग पहिचान गरेर उनको गर्भपतन गराइयो ।
तेस्रो पटकको गर्भ भने परिवारले पहिचान गर्न दिएन । र, छोरी नै जन्मिइन् ।
नेपाली समाजमा अझै छोरा र छोरीबीच समान दृष्टिकोण बनिसकेको छैन । छोरा जन्मिए खुशी र छोरी भए बेखुशी हुने परिवार अझै भेटिन्छन् ।
अल्ट्रा साउन्डमार्फत् लिंग पहिचान अनि गर्भपतनमार्फत् भ्रुण हत्या । नेपाली समाजको आम प्रवृत्तिझैं बनेको छ यो ।
ललितपुर जावलीखेलकी सरिता थापा (नाम परिवर्तन)लाई पनि छोराको चाहना थियो, भ्रुण जाँच गर्दा छोरी देखिएपछि गर्भपतन गराइन् । उनमा एक्कासी समस्या आयो । र, पाठेघर सफा गर्न भारतको अस्पतालसम्म पुग्नुपर्यो ।
उनले दुई पटक गर्भपतन गराइन् । तेस्रो पटकमा छोरा देखिएपछि मात्र जन्म दिइन् ।
कारण अनैतिक सम्बन्ध
वैदेशिक रोजगारी नेपाली समाजमा आर्थिक उपार्जनको गतिलो माध्यम बनेको करिब दुई दशक बित्यो । त्यसबाट कमजोर आर्थिक अवस्थाका परिवारको स्तरोन्नतीमा टेवा पनि नपुगेको होइन ।
तर, पति लामो समय विदेशमा रहँदा जैविक आवश्यकता पूरा गर्न पत्नीहरू परपुरुषको नजिक पुग्छन् । परपुरुषबाटै गर्भ रहेपछि परिवार र लोकलाजबाट बच्न उनीहरू गर्भपतन गराउनैपर्ने बाध्यतामा पर्छन् ।
यो समस्या पछिल्ला दशकमा पारिवारिक बिखण्डन निम्त्याउने कारक पनि बन्दै आएको छ ।
जथाभावी गर्भपतन गर्ने/गराउनेलाई तीन महिनादेखि पाँच वर्षसम्म कैद तथा १० हजारदेखि ५० हजारसम्म जरिवानाको व्यवस्था लागू हुँदै ।
स्वास्थ्यमा खेलबाड
पटक-पटक गर्भपतनले महिलाको स्वास्थ्यमा गम्भीर असर पुर्याउँदै आएको छ । यसका कारण पाठेघरको क्यान्सरलगायत समस्या पनि बढाएको छ ।
इकोन, डिपो प्रोभेरा, नरप्लान्ट तथा चिकित्सकको सल्लाहबिना सामान्य स्वास्थ्यचौकी र क्लिनिकबाट गराइने गर्भपतन सबैभन्दा जोखिमपूर्ण मानिन्छ ।
गर्भनिरोधक साधनहरूले महिलाको 'हर्मोन'मा असन्तुलन, अत्यधिक रक्तश्राव, पाठेघरमा प्वाल, अस्वाभाविक मोटोपना र प्रजनन् स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँछन् ।
स्त्रीरोग विशेषज्ञहरू यस्ता साधन प्रयोग नगर्न सल्लाह दिन्छन् । तर, महिलाहरू यस्तो औषधि साँझ-बिहान तरकारी खाएझैं खाने गर्छन् । असुरक्षित गर्भपतनका कारण ज्यानै गएका घटना पनि प्रशस्तै छन् ।
आउँदै कडा कानुन
नेपालले सन् २००२ देखि गर्भपतनलाई कानूनी मान्यता दिएको हो ।
'आपतकालीन अवस्थाका लागि गरिएको कानूनी व्यवस्था हो यो,' प्रजनन् स्वास्थ्यसम्बन्धि समाजसेवी विद्यालक्ष्मी नापित भन्छिन्, 'बारम्बार र असुरक्षित गर्भपतन गराउन नहुने चेतनाको अभाव देखिएको छ ।'
उनका अनुसार बलात्कारमा परेकाहरूका लागि उक्त कानूनी व्यवस्थामा जोड दिइएको हो । जथाभावी गरिने गर्भपतनलाई बन्देज लगाउनुपर्ने नापितको धारणा छ ।
स्त्री विशेषज्ञ डा. अरुणा उप्रेती भने यो महिलाको अधिकारको विषय भएको बताउँछिन् । 'यसलाई भु्रण हत्या भन्न मिल्दैन, महिलाले चाहेमा गराउन सक्छन्,' डा. उप्रेती भन्छिन्, 'तर यो अधिकार सकेसम्म प्रयोग गर्नु नपरोस् भन्नेमा महिला सचेत हुनु जरुरी छ ।'
यौन सम्पर्ककै बेला महिला-पुरुष दुवै सचेत हुनु जरुरी देख्छिन्, उनी । परिवार नियोजनका अस्थायी साधन प्रयोगमा जोड दिन सके यस्तो समस्याबाट सहजै पार पाइने उनको सुझाव छ ।
मनोविद् करुणा कुँवर बिष्ट गर्भपतनका कारण आउने समस्या शारीरिक कमजोरीमा सीमित नरहेको बताउँछिन् । भन्छिन्, 'यसका कारण आउने समस्याले भविष्यमा मनोवैज्ञानिक असर पनि पुर्याउँछन् ।'
बारम्बार गर्भपतन गराउँदा बाँझोपनको समस्या पनि उत्तिकै जटिल बन्ने उनको भनाइ छ । 'गर्भ रहेपछि महिलामा मातृत्वको भावना पैदा हुन्छ, जुन प्राकृतिक हो,' उनी भन्छिन्, 'गर्भपतनका कारण उनीहरूमा पाप गरेको आत्मग्लानी पैदा हुन्छ । र, मनोवैज्ञानिक असर पर्छ ।'
जथाभावी गर्भपतन रोक्ने कानुन १ भदौदेखि लागू हुँदैछ । अपराध संहिता ऐन, २०७४ अनुसार १२ सातासम्मको गर्भपतन गराइए एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।
१२ साताभन्दा बढी २५ सातासम्मको गर्भ भएमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुनेछ । २५ साताभन्दा बढीको गर्भ भएमा पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना लाग्नेछ ।
गर्भपतन गर्ने उद्देश्यले भ्रुणको लिंग पहिचान गर्ने/गराउने दुवैलाई तीनदेखि ६ महिनासम्म कैद हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४