काठमाडौं– तीन जना सांसदलाई बिनाविभागीय मन्त्री नियुक्त गर्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री गुरुङको उपस्थितिमा आज ४ जना मन्त्रीलाई शपथ खुवाएकी हुन्।
विस्तार भएको मन्त्रीमण्डलमा आर्थिक मामिला तथा योजना मन्त्रालयमात्रै तोकिएको छ। यो मन्त्रालय किरण गुरुङको जिम्मामा परेको छ। प्रदेशमा नयाँ बजेट ल्याउने तयारी छिटै गर्नुपर्ने भएकाले गुरुङलाई मन्त्रालय तोकिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
किरण गुरुङसँगै निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल र सामाजिक विकास मन्त्री नरदेवी पुनले बिनाविभागीय मन्त्रीका रुपमा सपथ खाएका छन्।
केही दिनअघि युवा तथा खेलकुद मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने शपथमा सहभागी भएनन्। उनी काठमडौं भएकाले आउन नपाएका हुन्।
वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङ २९ गने पुनः नियुक्त भएका थिए। कोरोनाले गर्दा उनी आइसोलेसनमै रहेका कारण मन्त्रीमण्डल विस्तारमा बिलम्ब भएको थियो। मन्त्रिमण्डल विस्तारसँगै मुख्यमन्त्री प्रदेशमा मन्त्रालय थप्ने योजनामा छन्।
उनको योजनाअनुसार गण्डकी प्रदेशमा अब १० वटा मन्त्रालय हुनेछन्। कुल प्रदेश सभा सदस्यको २० प्रतिशतलाई मात्रै मन्त्री बनाउन पाइने संवैधानिक व्यवस्था भएकाले यो प्रदेशमा १२ जनासम्मलाई मन्त्री बनाउन सकिन्छ। हाल प्रदेशमा ८ वटा मन्त्रालय छन्।
सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइसकेका मुख्यमन्त्रीले अब उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउन लागेका हुन्। मन्त्रीपरिषदको बैठक आजै बस्ने र बिना विभागीयलाई मन्त्रालयको जिम्मेवारी दिईने जनाइएको छ।