काठमाडौं- १३ वर्षयता इंग्लिस क्लब टोटेनहमले उपाधि जितेको छैन। त्यसो भए टोटेनहमकै फरवार्ड ह्यारी केनले पनि यो समयबीच टिम उपाधि जित्ने कुरै भएन। व्यक्तिगततर्फ फिफा विश्वकप २०१८ को सर्वाधिक गोलकर्ता बन्दै केनले गोल्डेन बुट जितेका थिए। तर, टिमको उपाधिमा लगातार चुकिरहेका केन अहिले निकै निराश देखिन्छन्।
त्यसो त विश्वमै सर्वाधिक फुटबल फस्टाएको ठाउँ इंग्ल्यान्ड नै हो। त्यहाँको फुटबल व्यवसाय धेरै कर तिर्ने उद्योगमध्ये पर्छ। विश्वकै सबैभन्दा धेरै कर तिर्ने फुटबल लिग पनि इंग्लिस प्रिमियर लिग नै हो।
इंग्ल्यान्डको फुटबल यति कुराले मात्र प्रख्यात छैन। एफए कप, काराबाओ कपदेखि कम्युनिटी शिल्ड खेल्ने खेलाडीको त्यहाँ ठूलो मान छ। समुदायमा फुटबलको राम्रो छाप परेको देशको टिम पनि निकै बलियो नै हुन्छ।
त्यसैले फिफा विश्वकप, नेसन्स कप र युरो कपमा सदाको उपाधि दावेदार पनि हो– टिम इंग्ल्यान्ड। यस्तो देशको राष्ट्रिय फुटबल टिमको कप्तान हुनुमा कसलाई गर्व हुँदैन र? त्यो गर्व ह्यारी केनलाई पनि छ। उनी इंग्ल्यान्डका कप्तान जो हुन्।
अफसोश ! उनले पछिल्ला १३ वर्षदेखि कुनै क्लब उपाधि जित्न सकेका छैनन्। उनी आफैं भन्छन्– उनको धेरै महत्वाकांक्षा छ। नहोस् पनि कसरी! उनको खेल कौशल नै उपाधिको लायक छ। तर उनको क्लबले भने उपाधि जित्ने कुरामा बेवास्ता गरेजस्तो लाग्छ।
‘टोटेनहमको उपाधि जित्ने कुनै लक्ष्य नै देखिँदैन। म महत्वाकांक्षी खलाडी हो र उपाधि जित्न चाहन्छु,’ केनले पछिल्लो पटक एक अन्तर्वार्तामा भनेका थिए, ‘र उपाधि जित्नका लागि नयाँ क्लबमा पनि जान सक्छु।’
गत वर्ष पनि उस्तै प्रतिक्रिया
५९ अंकका साथ प्रिमियर लिगको छैटौं स्थानमा चित्त बुझाउनु परेपछि केनले गत वर्ष पनि उही प्रतिक्रिया दिएका थिए। त्यसपछि उनी क्लबमा रहने कि नरहने भन्नेबारेमा फुटबल पण्डितहरुले भजन गाउन थालेका थिए। ‘के उनी अब क्लबमै रहलान्?’ उनलाई चिन्ने फुटबल दर्शकमा त्यतिबेला उब्जेको प्रश्न पनि यही थियो। अहिले पनि त्यही छ।
कति समयसम्म उनी क्लबमा रहन्छन् भन्ने प्रश्नको उनले सिधा उत्तर दिएका थिएनन्। उनले आफू खेलप्रति निकै महत्वाकांक्षी भएको बताएका थिए। ‘मैले यो प्रश्नको धेरैपटक सामना गरेको छु,’ उनी अन्यत्र जाने चर्चा चल्दै गर्दा इन्स्टाग्राम लाइभमा भनेका थिए, ‘यसको उत्तर हो वा होइन कुनै पनि हुनसक्छ। म टोटेनह्यामलाई धेरै माया गर्छु। यदि टोटेनह्यामले प्रगति गरिरहेजस्तो लागेन भने म अर्को क्लबमा जान पनि सक्छु। म कहीँ पनि रोकिइरहन चाहन्नँ। म एक महत्वाकांक्षी खेलाडी हुँ।’
उनले क्लब छोड्नेबारे लामो समयदेखि चर्चा चलिरहँदा केही सयम पहिले त उनको नाम स्पेनिस क्लब रियल मड्रिड र इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडसँग पनि जोडिएको थियो। नाम जोडिए पनि उनी त्यतातिर गएनन्। शीर्ष गोलकर्ता भएर दुई पटक गोल्डेन बुट पाएको क्लबमै बसे। उनले टोटेनह्यामबाटै प्रिमियर लिगमा दुई पटक गोल्डेन बुट हात पारिसकेका छन्।
विश्वकप २०१८ मा गोल्डेन बुटबाट सम्मानित भएपछि नै उनी अन्यत्र जाने हल्ला चलिरहेको थियो, तर गएनन्। साथै २०१८ को विश्वकपपछि उनका फ्यान पनि उल्लेख्य रुपमा बढेका छन्।
फ्यान बढेसँगै नयाँ चुनौतीको सामना गर्न तयार उनले त्यो सिजन र अर्को सिजन पनि टोटेनह्याममै बिताए। २०२०–२१ सिजन सकिन लाग्दा उनीबारे फेरि अफवाह फैलिन थालेका छन्। अब समर विन्डो नजिकिँदै छ। खेलाडीले क्लब छोड्नु र अर्कोमा अनुबन्ध हुनु नियमित प्रक्रिया हो। केन पनि यसको हिस्सा बन्न सक्नेछन्। तर यसबीच आयोजित युरोकपले पनि उनको भविष्य निर्धारण गर्न सक्नेछ।

के उनले क्लब छोड्लान्?
गएको अप्रिलमा टोटेनहमले काराबाओ कपमा हार बेहोरेपछि केनले ठूलो पुरस्कार राशि रहेको उपाधि जित्न चाहेको बताएका थिए। त्यसपछि खेलमा चम्किएर लाग्ने उनको भनाइ थियो। तर, प्रिमियर लिग सकिन एक खेलमात्र बाँकी रहँदा टोटेनहम साविककै स्थानमा छ। अर्थात् छैटौं स्थानमा। अंक पनि उस्तै, ५९।
तर बीबीसी लेख्छ– उनले क्लब छोड्नेबारे कुनै कुरा गरेका छैनन्। उनी सोच्छन्– टोटेनहमसँग उनको समझदारीपूर्ण निर्णय छ। उनले चाहेको समयमा क्लबले उनलाई बिदा गर्नेछ।
एकमात्र लक्ष्य– उपाधि
उनी एकदुई सिजनमात्र उत्कृष्ट प्रदर्शन गरेर होइन, धेरै सिजनमा राम्रो खेलेर लिगमा नाम राख्न चाहन्छन्। उनले आफू लिगको सर्वाधिक गोलकर्ता हुन चाहेको पनि बताएका छन्।
लिगमा शीर्ष गोलकर्ता बन्न लामो यात्रा उनले तय गनुपर्ने हुन्छ। हाल २६० गोलका साथ एलन सेअरेर प्रिमियर लिगको सर्वाधिक गोलकर्ता कायम छन्। साथै टोटेनहमका लागि सर्वाधिक गोल गर्नेमा जिम्मी ग्रेभ्स छन्। उनले २६६ गोल गरेका छन्। केन दोस्रो सर्वाधिक गोलकर्ता हुन्।
उपाधिबिना गोलको अर्थ नहुने सेअरेर बताउँछन्। भन्छन्, ‘जिम्मीको रेकर्ड ब्रेक गर्ने वा नगर्ने अथवा मेरो रेकर्ड ब्रेक गर्ने–नगर्ने उनको इच्छा हो। तर यसलाई छोडेर लिग जित्न चाहन्छन् भने पनि नराम्रो होइन।’
सर्जियो अग्युरो, फ्रांक लाम्पार्ड, थियरी हेनरीजस्ता धेरै खेलाडी छन्, जसले उच्च गोलकर्ता रहँँदै उपाधि पनि जिते। त्यसैले सेअरेरको भनाइमा पनि उपाधिबिनाको गोल भनेको आकाशको फल मात्र हो। र, केन चाहिँ त्यो फल चाहन्छन्।
केनलाई गोलको भन्दा उपाधिको धेरै माया छ। ‘म लिग जित्नका लागि खेल्न चाहन्छु, व्यक्तिगत रुपमा त मैले केही उपलब्धि हासिल गरिसकेको छु। तर म उपाधि जित्नका लागि खेल्छु। मलाई थाहा छ उपाधि जित्दाको खुसी रेकर्ड तोड्नुभन्दा ठूलो हुन्छ,’ उनी भन्छन्।
उनी थप्छन्, ‘मलाई लाग्छ शीर्ष गोलकर्ता बन्न चाहनेलाई चोट लाग्नु र आराम गरिरहनु ज्यादै मुस्किल कुरा हो। यदि मैले अब दश वर्षसम्म खेल्न सकेँ भने त्यो रेकर्ड पनि तोड्न सक्छु। हाल मेरो दिमागमा यही कुरा चलिरहेको छ। एलनको गोलसँग हालसम्म कोही पनि नजिक पुग्न सकेको छैन। त्यसैले अब धैर्यताले काम लिनुपर्छ।’
टोटेनहममा केनको यात्रा
टोटेनहमका फुटबलर केनको यात्रा सन् २००४ बाट सुरु भएको होे। उमेर समूहका तीव्र गतिका खेलाडीले राम्रो स्कोर गर्न थालेपछि केनले २०११ मै सिनियर टिममा स्थान बनाए।
त्यतिबेला उनी १७ वर्षका मात्र थिए। त्यसपछि उनले फुटबल करिअरमा कहिल्यै कमजोर महसुस गर्नु परेन। अन्तराष्ट्रिय करिअरको ग्राफ उकालो लागिरहँदा २०१८ को मे महिनामा उनी इंग्ल्यान्डको कप्तानी सम्हाल्न पुगे।
राष्ट्रिय टिमका नियमित सदस्य केन अहिले पनि युरोपको उत्कृष्ट फरवार्डमा गनिन्छन्। यद्यपि प्रिमियर लिगमा क्लबलाई उपाधि दिलाउन भने नसकिरहेका केनको यात्रा अन्योलपूर्ण बन्न पुगेको छ। उनले क्लबका लागि ३३४ खेलबाट २२० गोल गरिसक्दा उपाधिको संख्या शून्य छ।
यता, राष्ट्रिय टिमबाट पनि ह्यारीको पछिल्लो दुई वर्ष खासै उत्साहजनक रहेन। उनले गएको मार्च अन्तिममा ५०० दिनपछि इंग्ल्यान्डको टिमबाट गोल गरे। विश्वकपको गोल्डेन बुट विजेताका लागि यो निकै निराशाजनक कुरा थियो।
युरोकप २०२० को क्वालिफायरमा कोसोभोविरुद्ध गोल गरेपछि गोलको खडेरी सामना गरेका कप्तान ह्यारीले ५९६ मिनेट बिनागोल मैदानमा बिताएका थिए। एक जबरजस्त फरवार्डका लागि यो निकै सकसपूर्ण समय थियो। अन्ततः उनले विश्वकप छनोटमा अल्वानियाविरुद्ध खेलको ३८ औं मिनेटमा गोल गरेर खडेरी तोडेका थिए।
- समाचार एजेन्सीहरुको सहयोगमा विनय सापकोटाले तयार गरेको सामग्री