सोमबार, असोज १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महामारीमा व्यापारिक घरानाको साथ, अक्सिजन प्लान्टदेखि आईसीयूसम्म सहयोग

महामारीमा व्यापारिक घरानाको साथ, अक्सिजन प्लान्टदेखि आईसीयूसम्म सहयोग

२०७२ मा भूकम्प जाँदा होस् वा कोरोनाको महामारीसँग जनता लडिरहँदा उद्योगी व्यवसायीहरुले जनताको साथ कहिल्यै छोडेका छैनन्। 
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं- सधैँ उद्योग व्यापारको माध्यमबाट जनताको पैसा असुल्ने छाप बनाएका उद्योगी व्यापारीहरु महामारीमा समयमा जनताको साथमा खडा हुने गरेका छन्। २०७२ मा भूकम्प जाँदा होस् वा कोरोनाको महामारीसँग जनता लडिरहँदा उद्योगी व्यवसायीहरुले जनताको साथ कहिल्यै छोडेका छैनन्। 

चौधरी फाउण्डेसनले मंगलबार देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्‍यो। फाउन्डेसनले अस्पतालमा १८ शैय्याको अत्याधुनिक आईसीयू वार्ड स्थापना गर्न र अक्सिजन प्लान्टको स्थापनाका लागि चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स)सँग सम्झौता गर्‍यो। त्यसका लागि १० करोडभन्दा बढीको खर्च लाग्ने पनि फाउन्डेसनले जनाएको छ। 

त्यस्तै चौधरी ग्रुपले सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौतासमेत गरिसकेको छ।

वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर÷प्रतिघण्टा रहनेछ। यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ। सो फाउन्डेसनले कोरोनाको पहिलो लहरमा देशभरका २०० भन्दा बढी स्वाथ्य केन्द्रमा पीपीई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो।

फाउण्डेसनले देशका अस्पतालहरूलाई भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरण र केन्द्रीय प्रयोगशाला टेकु र धुलिखेल अस्पतालका लागि १ हजार थान पीसीआर रिएजेन्टसमेत उपलब्ध गराएको बताएको छ। 

२०७२ को महाभूकम्पपश्चात् चौधरी फाउण्डेसनले भूकम्पबाट घरबारविहीन बनेका २ हजार ५०० भन्दा बढी परिवारका लागि आवास र ५० भन्दा बढी विद्यालय निर्माण गरेको थियो।

त्यस्तै शिवम् सिमेन्टले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १९० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ। 

विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामग्री अभाव भइरहको परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले उद्योगस्थल हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली सिलिण्डर गरी जम्मा १९० थान अक्सिजन सिलिण्डर प्रदान गरेको हो। त्यस्तै शिवम्ले ३० थान मेडिकल बेड, ५ थान सीसीयू बेड तथा ५ थान बेडहरुमा जडान गरिने मेडिकल मोनिटरसमेत हस्तान्तरण गरेको छ।

शिवम् सिमेन्ट्सले यसअघि पनि यस किसिमका महामारी, दैवीप्रकोप, राहत सामग्रीहरु, स्वास्थ्य सामग्री, एम्बुलेन्स हस्तान्तरणसहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आएको थियो। 

कोरोना महामारीसँग लड्नका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले गोल्छा ग्रुपले पनि पाटन अस्पताललाई १ करोड रुपैयाँ सहयोग गरेको छ। 

त्यसैगरी सामसुङ मोबाइलको नेपाल डिलर व्यवसायी दीपक मल्होत्राले चीनबाट २ हजार २५० थान अक्सिजनको सिलिण्डर ल्याउने जनाएका छन्। 

उनले ल्याएको सिलिण्डर नेपाल चेम्बर अफ कमर्शमार्फत् सरकारी अस्पताललाई कम्तीमा ५०० थान निःशुल्क दिने जनाएका छन्। मल्होत्राले यसअघिदेखि नै महामारीको समयमा मास्क उत्पादन गरी बिक्री गर्दै आएका छन्।

एभरेष्ट ग्यास ग्रुपका अध्यक्ष व्यवसायी शिवप्रसाद घिमिरेले पनि चीनबाट अक्सिजन व्याग, अक्सिजन मास्क तथा अक्सिजन सिलिण्डर ल्याएका छन्।

ग्रुपअन्तर्गतका दुई कम्पनी एसएलआर टेक्नो एन्ड ट्रेड प्रालि र एभरेष्ट ग्यास उद्योग प्रालिमार्फत् ती सामान नेपाल भित्र्याइने घिमिरेल बताए। घिमिरेले ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन ब्याग, ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर ल्याएका हुन्। 

त्यसैगरी सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सीडीइएन)ले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ। सीडीइएनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आविष्कार केन्द्रलाई १ लाख १ हजार १०१ रुपैयाँ सहयोग गरेको हो। 

नेपाल उद्योग वाणिज्य महासंघले अपरेसन कोभिड रिलिफ नेपाल नाम दिएर अभियान नै चलाएको छ। महासंघले विभिन्न स्थानमा आइसोलेसन केन्द्रहरु राख्ने, डाक्रको व्यवस्थापन गर्नेलगायतका काम गरिरहेको छ। 
यसअघि महासंघले पहिलो चरणको कोरोनाको समयमा एक करोडभन्दा बढी रकम सरकारको कोभिड फण्डमा दिएको थियो। 

त्यस्तै नेपालको मारवाडी समाजले पनि आआफ्नो स्थानबाट जनताहरुलाई कोभिडबाट मुक्त गराउनका लागि काम गरिरहेका छन्। 

प्रकाशित: May 19, 2021| 09:06 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्