बुटवल– पश्चिम नवलपरासीको सुस्तास्थित भारतीय सीमावर्ती नाकामा बुधबार गोली चल्दा एक युवकको मृत्यु भएको छ। सशस्त्र प्रहरीले चलाएको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नम्बर ६ कठहवाका २२ वर्षीय अविनाश राजभरको मृत्यु भएको हो।
प्रहरीको गोली लागेर गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो। बुधबार बिहान तीन–चारजना युवक सुस्ता–५ को वनकट्टी नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा सीमामा खटिएका सशस्त्र प्रहरीसँग विवाद भएको थियो।
विवादले उग्ररुप लिएपछि आक्रोशित युवाहरुले गाउँका अन्य मानिससमेत खबर गरी ५०–६० जना एकै पटक आई ढुंगामुढा गर्न थालेपछि अवस्था बिग्रेको प्रहरीले जनाएको छ। ढुंगामुढा प्रहार हुन थालेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको सशस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी उपरिक्षक महेश अधिकारीले बताए ।
घटनामा सशस्त्र प्रहरीतर्फ पनि एक जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सशस्त्र प्रहरीमाथि नै आक्रमण हुन थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको बताए। उनले घटनाको कारणबारे अहिले नै केही भन्न नसक्ने बताए। ‘घटनाको सत्य तथ्यका लागि छानविन समिति गठन हुन्छ। हामी अनुसन्धानमै छौं,’ प्रजिअ मिश्रले भने ।
कोरोना महामारीको समय भएकाले सीमाबाट आउजाउ गर्न कडाइ गरिएको प्रशासनको भनाइ छ। स्थानीयले भने प्रहरीले भारतबाट आउने क्रममा युवाहरुलाई बिनाकारण कुटपिट गरेको बताएका छन्।