काठमाडौं - भारतमा आएको ताउते आँधी र न्यूनचापीय क्षेत्रको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका केही भागमा वर्षा भइरहेको छ।
बिहानैदेखि बदली भएको मौसमपछि हल्का वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सक्रिय रहेको छ।
देशभर मौसम सक्रिय रहेकाले अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद् शान्ति कँडेलका अनुसार न्यूनचापीय क्षेत्रको प्रभावले आज र भोली देशभर भारी वर्षाको सम्भावना छ। बुधबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको कँडेलले बताइन्।
बिहीबार पनि बागमती, प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना रहेको छ। हिमाली जिल्लामा भने हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ। प्रि-मनसुन र न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले नेपालमा मौसम सक्रिय भएको उनले बताइन्। शुक्रबारबाट भने मौसममा सुधार आउँदै जाने महाशाखाले जनाएको छ।