काठमाडौं - लमजुङको बेसीसहर नगरपालिका-१ की टीका बस्याल बिहानै उठेर ‘फ्रेस’ हुने तरखरमा थिइन्। छोरी र अन्य परिवारका सदस्य मस्त निद्रामा थिए।
बिहान ५:४२ मा एक्कासि घर हल्लियो। उनी निकै आत्तिइन्। के गर्ने-गर्ने भयो। परिवारका सबै सदस्यलाई हतार-हतार उठाएर बाहिर भागिन्।
आत्तिएर भाग्दा देवर काशीराम बस्याल लडे। उनको छातीमा सामान्य चोट लाग्यो। बाहिर निस्केर हेर्दा टोलका धेरै घरमा भूकम्पले क्षति पर्याइसकेकाे थियो। केही घर भत्किएका थिए।

बिहान लमजुङको मर्स्याङ्दी गाउँपालिका खुदी भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युटको भूकम्प गयाे। जसले जिल्लामा धेरै घर भत्काएको छ भने केही मान्छे घाइतेसमेत भएका छन्।
'२०७२ वैशाख १२ गतेको झल्को दिने गरी घर हल्लायो। शरीर लगलग काँपिरहेको थियो। यस्तो बेला मानिस अर्धचेत हुँदो रहेछ। दिमागले केही सोच्नै सकेन। हामी त गुटुङ्टुङ् बाहिर भाग्यौं', उनले नेपाल समयसँग भनिन्।
उनले कोरोनाले भित्र बस भनिरहेको र भूकम्पले बाहिर जा भनिरहेकाले कसरी ज्यान जोगाउने भन्ने नै मुस्किल परेको बताइन्। उनले यो समाचार तयार पार्दासम्म चार पटक हल्लाइसकेको बताइन्।

वडा नम्बर १ की जनप्रतिनिधिसमेत रहेकी उनले आफू अप्ठ्यारोमा परेकाहरूको सहयोगमा जुटिरहेको बताइन्।
अहिले पनि परकम्प जाने क्रम जारी रहेकाले स्थानीय त्रसित बनेको बताइन्। जिल्लामा माटोको गारोले चिनिएका धेरै घरमा भूकम्पले क्षति पुर्याएको उनले जानकारी दिएकी छन्।
चार घाइते, एक दर्जन घरमा क्षति
भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन्। घाइते हुनेमा बेसीसहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नम्बर ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नम्बर ८ का २९ वर्षीय खुसीमाया गुरुङ र मर्स्याङ्दी गाउँपालिका–६ ठूलीबेसीका २२ वर्षीय गोविन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरीका अनुसार उनीहरूमध्ये खुसीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लागेर घाइते भएका हुन्।

घाइतेको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ। उनीहरूको टाउको, हातखुट्टालगायतका शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले बताए। घाइते उमा घरमै सुतिरहेको अवस्थामा भूकम्प जाँदा घर भत्किएर शरीरको आधा भाग पुरिएको थियो।
त्यसपछि स्थानीयवासीले उद्धार गरेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याउन सफल भएको तर प्रहरीलाई बेलैमा खबर गर्दासमेत नआएको स्थानीयवासीको गुनासो छ।
उमासहित उनकी छोरी श्रुति गुरुङ पनि सोही स्थानमा सुतिरहे पनि उनी भने मर्निङवाक जाने भनेर हिँडेको एक मिनेटमै भूकम्प गएको थियो। श्रुति मर्निङवाक जाने भनेर घरबाट हिँडेकाले घाइते हुनबाट जोगिएको उनले बताइन्।

श्रुतिले भनिन्, 'घरमा ममी र म मात्र थियौं, बाबा कामको सिलसिलामा मनाङमा हुनुहुन्छ, अब घर भत्कियो कता कसरी बस्ने भइहेको छ।'
प्रहरी निरीक्षक मिश्रका अनुसार भूकम्पले घाइते उनीहरूको घरसहित बेसीसहर–१ का शम्शेर परियार, वडा नम्बर ३ रानीकुवाका दीपक बराल, नवीन बराल, गोरे क्षेत्री, वडा नम्बर ६ मकैडाँडाका लक्ष्मी अधिकारी, तुलबहादुर अधिकारी, टेकबहादुर अधिकारी, मस्र्याङ्दी–३ तरापुका बासुदेव खत्रीको घरमा क्षति पुगेको छ।

त्यस्तै मध्यनेपाल नगरपालिका–७ का तीर्थराज घिमिरे, बेसीसहर–६ कै धीरबहादुर रिमाल, बुद्धिबहादुर रिमालको घरमा क्षति पुगेको छ।
यी अधिकांश घर ढुंगामाटा र जस्तापाताको छानोबाट बनेको प्रहरीले जनाएको छ। त्यस्तै थप अन्य विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ।
लमजुङसहित छिमेकी जिल्ला मनाङ, कास्की, गोरखालगायतका जिल्लामा समेत भूकम्पकाे धक्का पुगेको बताइएको छ।
र यो पनि,
लमजुङ केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युटकाे भूकम्प
लमजुङमा भूकम्पले पुर्यायो क्षति (फोटो फिचर)





