बुटवल - पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दघाट-दाउन्ने सडकखण्डमा आज बस दुर्घटना हुँदा चार जना मृत्यु भएको छ। ४९ जना घाइते भएका छन्।
प्रहरीले केही समयअघि मात्रै बसले च्यापिएका पाँचजनालाई सकुशल उद्धार गरेको छ।
दुर्घनामा परी मृत्यु भएकामध्ये २ जनाको मात्रै सनाखत भएको छ।
पश्चिम रुकुम सिस्ने गाउँपालिका-४ का ३६ वर्षीय धनराज घर्ती र त्रिवेणी-६ का २७ वर्षीय कल्पना पुन रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव निरीक्षक राजु लामाले बताए।
काठमाडौंबाट रुकुमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट नगरपालिकामा पर्ने दाउन्नेको खुर्सानी खोलामा आज बिहान ६ बजे दुर्घटनामा परेको हो।
बस सडकबाट १५० मिटर तल खसेको थियो। घाइतेहरूको बर्दघाटस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
निषेध आदेशका बेला यति धेरै यात्रु बोकेर किन आएको भन्नेबारे भने केही खुलेको छैन।