बुटवल - कोरोना संक्रमणबाट रुपन्देहीमा एक पत्रकारको मृत्यु भएको छ। ६१ वर्षीय पत्रकार हिक्मत चौधरीको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।
कोरोना संक्रमण देखिएपछि वैशाख २१ गतेदेखि पत्रकार चौधरीको उपचार भइरहेको थियो। बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा बिहान ३:१५ बजे भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।
वैशाख २५ गते अस्पताल भर्ना भएका उनको आईसीयू हुँदै दुई दिनअघि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। सुरुदेखि नै श्वासप्रश्वासमा समस्या देखिएका पत्रकारको निधनले रुपन्देहीले असल र इमान्दार पत्रकार गुमाएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताए। महासंघको तर्फबाट उपचारका लागि अनेक प्रयास गरिएको तर पत्रकार चौधरीलाई भने बचाउन नसकिएको उनकाे भनाइ छ।
चौधरीले रेडियो लुम्बिनीमा आंशिक र पूर्णकालीन गरी करिब १५ बर्ष रेडियो लुम्बिनीमा आबद्ध भएका थिए। विगत डेढ वर्षदेखि भने उनी सञ्चारविहीन भएका थिए।
रुपन्देही तिलोत्तमा-५, मणिग्राम निवासी चौधरीको २ छोरा, ४ छोरी र श्रीमती छन्। चौधरीको निधनसँगै लुम्बिनी प्रदेशमा कोरोनाबाट मृत्यु हुने पत्रकारको संख्या ४ पुगेको छ।