आइतबार, मंसिर २१, २०८२

‘हेल्लाे हजुर! अन्तर्राष्ट्रिय उडान कहिले खुल्छ?’

हरेक दिन करिब १०० वटा फोन आउने गरेकोमा अधिकांश फोन कहिले उडान खुल्छ भनेर सोध्नकै लागि आएका हुन्छन्। 
 |  बुधबार, जेठ ५, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बुधबार, जेठ ५, २०७८

काठमाडाैं - ‘अन्तर्राष्ट्रिय उडान कहिले खुल्छ?’

National life

‘भिसा आइसकेको छ कहिले जान पाइन्छ?’

‘श्रम गर्न पर्ने थियो, कहिलेबाट कार्यालय सञ्चालनमा आउँछ?’

यी र यस्तै प्रश्नको ओइरो लाग्न थालेको छ अचेल वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयस्थित कल सेन्टरमा। 

कल सेन्टरकी पर्यवेक्षक सरिना महर्जनका अनुसार हरेक दिन करिब १०० वटा फोन आउने गरेकोमा अधिकांश फोन कहिले उडान खुल्छ भनेर सोध्नकै लागि आएका हुन्छन्। 

Laxmi sunrise bank
kumari

यस्ता प्रश्न सोध्ने धेरैजसो स्वदेशकै युवाहरू हुने गरेको उनले जानकारी दिइन्। ‘विदेशबाट पनि कहिले उडान खुल्छ ? भनेर सोध्ने पनि छन्। तर, धेरैजसो कल स्वदेशबाटै आउने गरेको छ,’ उनले भनिन्। 

महर्जनका अनुसार अहिले विदेशमा रहेका नेपालीभन्दा स्वदेशमै रहेका युवाबाट भिसा नवीकरण गर्न के गर्ने? भिसा आइसकेको छ कहिले जान पाइन्छ? जस्ता प्रश्नहरू कलसेन्टरमा आउने गरेको छ। 

विदेशबाट पनि घर फर्किन लागेको हवाई उडान कहिले खुल्छ ? कम्पनी परिवर्तन गरे नवीकरण गर्न के–के गर्नु पर्छ जस्तो गुनासो आउने गरेको उनले जानकारी दिइन्।

‘वैशाखअगाडि कमै आउने गरेको गुनासो अहिले दैनिक ९५ भन्दा धेरै आउन थालेको छ। कहिलेकाहीँ त फोनसमेत उठाउन नभ्याइने गरेको उनले सुनाइन्। ‘फोन आउने क्रम ह्वात्तै बढेको छ। आफूहरूले सम्बोधन गर्न सक्ने विषयहरूको तत्कालै सम्बोधन गर्छौं। नसक्ने विषय सम्बन्धित निकायमा पठाउँछौ,’ कल सेन्टरकी पर्यवेक्षक महर्जनले भनिन्।

वैदेशिक रोजगार बोर्ड सचिवालयको व्यवस्थापनमा सिंहदरबारस्थित श्रम मन्त्रालयमा सञ्चालनमा ल्याइएको उक्त सेन्टरबाट असल श्रम सम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाका समस्या, जिज्ञासा, गुनासा र सुझावलाई प्रत्यक्ष संकलन र सम्बोधन गरिने बताइएको थियो। 

सरकारले श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासोलाई तत्काल सम्बोधन गर्न २०७५ चैत १८ गतेदेखि कल सेन्टर सञ्चालनमा ल्याएको थियो। कल सेन्टरबाट स्वदेश तथा विदेशमा रहेकाले फोन, इमेल, भाइबरलगायतका माध्यमबाट आफ्नो गुनासो, सुझाव राख्ने र जानकारी लिन सक्ने छन्।

केही समय बन्द भएको कल सेन्टर गत चैत १ गतेबाट बोर्डमार्फत् सञ्चालन गरिएको  थियो। वैदेशिक रोजगार बोर्डको श्रम कल सेन्टरमा ११४१ नम्बरमा फोन गर्न सकिन्छ। 

कल सेन्टरको टोल फ्री नम्बर १६६००१५०००५ नम्बरमा पनि सम्पर्क गर्न सकिन्छ। देश तथा विदेशमा हुनेले ह्वाट्सएप नम्बर ०१५९७०००८ र भाइवरमा ९०१०००१३ नम्बरमार्फत सम्पर्क गर्न सकिन्छ। 

श्रम कल सेन्टर नामक फेसबुक पेजमार्फत् पनि श्रम कल सेन्टरमा आफ्नो समस्या, प्रश्न र जिज्ञासा राख्न सक्ने व्यवस्था छ। 

प्रकाशित: May 19, 2021| 03:06 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्