काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले रामबहादुर थापा ‘बादल’ लाई बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन्। आफ्नो पक्षमा सहयोग गर्न राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बनेका थापालाई नेपालले यस्तो जबाफ दिएको नेपालको सचिवालयले जनाएको छ।
खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले बादललाई सहयोग गर्न नसक्ने भनाइ नेपालको थियो।थापा भोट माग्न नेपालको कोटेश्वरस्थित निवासमा पुगेका थिए। ‘नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरूसहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो’, नेपालको सविचालयले विज्ञप्तिमार्फत भनेको छ।
त्यस क्रममा थापाले मतदातालाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गरेका थिए। सचिवालयको विज्ञप्तिमा उल्लेख छ, ‘मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन। भ्रममा नपर्न सबैलाई अनुरोध छ।’
उपनिर्वाचनमा तीनजना प्रतिस्पर्धी छन्। नेकपा एमालेले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा एमालेकै नेपाल निकट देवकोटा उम्मेदवार छन्। उनलाई जसपाको (उपेन्द्र–बाबुराम) पक्षको पनि समर्थन छ। नेमकिपाका कृष्णबहादुर तामाङ पनि उम्मेदवार छन्।
बागमती प्रदेशमा नेकपा एमालेको एकल बहुमत छ। तर उम्मेदवारी दर्ता गर्ने समयमा एमालेभित्र फरक थियो। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध समानान्तर रुपले अघि बढेको एमालेको असन्तुष्ट नेपाल पक्षका देवकोटालाई विपक्षी गठबन्धनले साझा उम्मेदवारका रुपमा अघि सारेका हुन्। तर अहिले एमाले विवाद साम्य हुने अवस्थामा छ।
यता एमालेले थापालाई मत दिन ह्विप जारी गरेको छ। महासचिव ईश्वर पोखरेलले प्रदेससभा सदस्य र बागमती प्रदेशअन्तर्गतका स्थानीय तहका प्रमुख र उप्रमुखका नाममा पत्र पठाएका छन्। पत्रमा थापा एमाले उम्मेदवार रहेको र उनका पक्षमा मतदान गर्न निर्देशन दिइएको छ।
यस्तो अवस्थामा अब बागमती प्रदेश राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेको आधिकारिक उम्मेदवार बादलको पक्षमा सिंगो मतदान हुन्छ वा के हुन्छ अन्योल छ।