काठमाडौं– कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा सरकारको थप प्रयास नरहे अझै भयावह स्थिति आउन सक्ने बताएका छन्। ‘समुदायस्तरमा कोरोना फैलिएर भयावह स्थिति बनेको छ। सरकारको यस्तै प्रयास र तयारी रहिरहने हो भने केही महिनामा यस्तो स्थिति अझै थपिन सक्छ,’ डा. कोइरालाले भने।
कांग्रेसको कोभिड–१९ अनुगमन समितिले मंगलबार गरेको प्रदेश १ का नेता कार्यकर्तासँगको छलफलमा नेता कोइरालाले सरकारले अब आफ्नै बजेटले खोप खरिद गरेर सबै नेपालीले खोप पाउने व्यवस्था गर्नुपर्ने बताए। ‘माग्ने बेला छैन, मागेर कुनै पनि देशले दिँदैन, दिन सक्दैन, किनेर ल्याएर नै लगाउनुपर्छ, सरकारले आवश्यक बजेटको व्यवस्था गरेर नेपाली जनताको जीवनरक्षा गर्नुपर्छ,’ उनले भने।
कोइरालाले कोरोना संक्रमित अधिकांश नेपालीका लागि होम आइसोलेसन उपयुक्त नभएको बताए। ‘अहिले धेरै संक्रमित घरमै बसेको कुरा छ, तर त्यो उपयुक्त होइन, त्यसले झनै धेरै संक्रमण फैलिने सम्भावना हुन्छ,’ डा. कोइरालाले भने, ‘मलाई लाग्छ, ९५ प्रतिशतभन्दा धेरै जनताका घरमा एउटामात्रै शौचालय छ, एउटै कोठामा ३–४ जनासम्म बस्नुहुन्छ। परिवार सँगै बस्नुहुन्छ। त्यस्तो घरमा होमआइसोलेसन बस्नु सुरक्षित हुँदैन, उहाँहरुलाई संस्थागत आइसोलेसनको व्यवस्था गर्नुपर्छ।’
डा. कोइरालाले रोगसँग भोकको भयावह स्थिति आउने भएकाले त्यसका लागि राहतका कार्यक्रम ल्याउन कांग्रेसले भूमिका खेल्नुपर्ने बताए।