काठमाडौं– नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले अक्सिजन सिलिण्डरको सफल परीक्षण गरेको छ। परीक्षणका क्रममा सिलिण्डरले अक्सिजन सञ्चालनका लागि आवश्यक पर्ने आधारभूत प्रेसर धानेको छ।
नाष्टका वरिष्ठ वैज्ञानिकसमेत रहेका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले अक्सिजन सिलिण्डरको सफल परीक्षण भएको जानकारी दिए। ‘एक चरणको टेष्ट सम्पन्न भएको छ,’ उनले भने, ‘सिलिण्डरले धान्नुपर्ने जुन प्रेसर थियो, त्योभन्दा बढी प्रेसर धानेको छ।’
उनका अनुसार अक्सिजन सिलिण्डरले अक्सिजनका लागि १५० केजी प्रतिवर्ग सेन्टिमिटर चाप धान्नुपर्छ। अर्थात् अक्सिजन सिलिण्डरको अन्तर्राष्ट्रिय मापदण्ड १५० केजी प्रतिवर्ग सेन्टिमिटर हुने गरेको छ। मंगलबार गरिएको परीक्षणमा अक्सिजन सिलिण्डरले उक्त मापदण्डभन्दा बढी प्रेसर धानेको छ। ‘२३० देखि २३५ केजी प्रतिस्क्वायर सीएमसम्म प्रेसर धान्न सफल भएको छ,’ उनले भने, ‘अधिकतम कतिसम्म धान्ने रहेछ भनेर टेष्ट गर्न खोज्दा पाइप लिकेज भएर समस्या आएका कारण त्यो पार्ट सकिएन।’
नाष्टले अक्सिजन सिलिण्डर कति प्रेसरमा पड्किँदो रहेछ भनेर जाँच गर्न खोजेको थियो। तर, पाइपबाट लिकेज भएपछि त्यो सम्भावना नभएका कारण उद्योगीलाई अक्सिजन सिलिण्डर उत्पादनका लागि दिइने अनुमति भने तत्काल नदिइने भएको छ। यसअघि सफल परीक्षणपछि स्टिल उद्योगीलाई सिलिण्डर उत्पादनका लागि अनुमति दिइने नाष्टले बताएको थियो। ‘एक–दुई दिनमै ब्लाष्टसम्मको परीक्षण सम्पन्न गरेर बाँकी प्रक्रियामा जान्छौं,’ प्रवक्ता ढुंगेलले भने। कति प्रेसरमा ब्लाष्ट गर्न सकिन्छ भन्ने टुंगो लगाएर मात्रै उद्योगीलाई सिलिण्डर उत्पादनका लागि अनुमति दिने तयारी नाष्टको छ।
नाष्टले मंगलबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा सिलिण्डर परीक्षणको काम गरेको थियो। यसअघि कोभिड–१९को दोस्रो लहर फैलिएसँगै बजारमा अक्सिजन सिलिण्डरको अभाव भएपछि नाष्टले नेपालमै अक्सिजन सिलिण्डर उत्पादनको सम्भानासहित परीक्षण सुरु गरेको थियो।
बजारमा तीन किसिम (४७ किलो, ४० किलो र १० किलो) का अक्सिजन सिलिण्डर रहे पनि नाष्टले पहिलो चरणमा ४७ किलोग्राम क्षमताको सिलिण्डरमा परीक्षण गरेको थियो। प्रारम्भिक परीक्षणले उत्पादन गर्नेसम्मको सफल देखिए पनि ब्लाष्टिङसम्मकै परीक्षण गरेर मात्रै व्यावसायिक उत्पादनका लागि बाँकी प्रक्रियामा जान सकिने वरिष्ठ वैज्ञानिक ढुंगेलले जानकारी दिए।