काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा आठ बुँदे विज्ञप्ति जारी गरेकै दिन मंगलबार राजेन्द्र महतो संसदीय दलको नेता निर्वाचित भएको पत्र संसदीय संसद् सचिवालयमा दर्ता भएपछि पार्टीभित्र नयाँ तरंग उत्पन्न भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा विवादित बनेको जसपाभित्र यो बीचमा दुई अध्यक्ष समानान्तर हिसाबले गतिविधि गरिरहेका थिए।
वैशाख ३१ गते महन्थ–राजेन्द्र पक्षले बहुमत सांसदसहित राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै उपेन्द्र–बाबुराम पक्षको कार्यकारिणी समितिको बैठकले विधानविपरीत हुने कार्य अवैधानिक हुने भन्दै बहुमतले कारवाही गर्ने चेतावनी दियो।
त्यसपछि दुई जना अध्यक्षबीच बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा निर्णायक वार्ता भएको थियो। दुई अध्यक्षबीच पार्टी एकतालाई कायम राख्ने सहमति बनेर मंगलबार आठ बुँदे विज्ञप्ति सार्वजनिक भएको हो।
त्यसको केहीबेरमा नै अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षरसहित संसदीय दलको नेतामा राजेन्द्र महतो निर्वाचित भएको पत्र संसद् सचिवालयमा दर्ता भएको सार्वजनिक भएपछि जसपाभित्रको विवाद चुलिने देखिएको छ।
यादव निकट जसपा कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले सहमति सार्वजनिक भइसकेपछि एकता भाँड्ने प्रयासस्वरुप संसद् सचिवालयमा पत्र दर्ता भएको बताए।
‘केही फटाहा दलालहरुले एकता भाँड्ने प्रयासका लागि टिपेक्स लगाएर १ गतेको पत्रलाई ४ गतेको बनाएर आज संसदीय दलमा दर्ता गरेको देखिन्छ,’ उनले भने, ‘यो पार्टीलाई एकताबद्ध भएर लैजान नदिनेहरुको षड्यन्त्र हो।’
सचिवालयमा दर्ता गरिएको पत्रमा पनि प्रिन्टिङ गरेको मिति मेटाएर हातले लेखिएको प्रष्ट देखिन्छ। अध्यक्ष महन्थ ठाकुर पक्षले १ गते नै दर्ता गराउन खोजेपछि आफूहरुले २ गते नै अवैधानिक हो भनेर सचिवालयमा जानकारी पत्र दर्ता गराएको नेता इस्तियाक राईले जानकारी दिए।
‘हामीले पत्र पठाएपछि दर्ता गरिएको थिएन। आज सहमति सार्वजनिक भएपछि एकाएक मिति मेटेर ४ गते बनाइयो,’ उनले भने, ‘सहमतिपछि दर्ता गराइएको उक्त पत्रको कुनै मान्यता रहँदैन।’
दुई अध्यक्षले संयुक्त रुपमा संसद् सचिवालयमा पत्र पठाएपछि त्यसको कुनै औचित्य नहुने उनले प्रष्ट पारे। ‘दुवै अध्यक्षले संयुक्त हस्ताक्षर गरेर कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ,’ उनले भने, ‘बैठकले नै अहिले देखिएको समस्या समाधान गर्छ।’
संसदीय दलको समायोजन भएर बनेको विधानलाई पार्टीको केन्द्रीय कार्यकारिणी समितिले अनुमोदन गरेको अवस्थामा मात्र संसदीय दलको नेता चयन हुने उनले जानकारी दिए। त्यसैका लागि कार्यकारीणि समितिको बैठक बोलाइएको उनले बताए।
जसपाले आफ्नो नेतृत्वमा वा राष्ट्रिय सहमतिको सरकार गठन भएमात्रै सरकारमा सहभागिता जनाउने निर्णय गरेको भन्दै उनले बाहिर पार्टी एकता हुनै नदिने खेल भइरहेको बताए। सहमति पत्र सार्वजनिक भइसकेपछि संसद् सचिवालयमा दर्ता भएको पत्रले जसपाभित्र संशय भने पैदा गरेको छ।
अध्यक्षद्वयले जारी गरेको ८ बुँदे विज्ञप्तिमा पनि दलको नेता चयन भएको सम्बन्धी कुनै विषय उल्लेख गरिएको थिएन। जसपाका नेताहरुका अनुसार पार्टीको आधिकारिक लेटरप्याड नै नक्कली प्रयोग भएको छ। महन्थ ठाकुरले पठाएको पत्रमा चलानी नम्बर २ उल्लेख छ, जबकि उक्त पत्रभन्दा एक दिन पछि उपेन्द्र यादवले बुझाएको पत्रमा चलानी नम्बर ५२ लेखिएको छ। ठाकुरको पत्र जसपा संसदीय दलको कार्यालयको लेटर प्याडमा छ भने यादवको पत्र केन्द्रीय कार्यालय बालकुमारी लेखिएको लेटरप्याडमा छ।
संसद् सचिवालयका प्रवक्ता सहसचिव रोजनाथ पाण्डेले जसपाका सांसदहरुले पनि लेटरप्याड नक्कली प्रयोग गरेर पत्र दर्ता गरिएको जानकारी दिएको बताए ‘हिजो पनि आएको थियो पत्र र आज पनि आएको हो। लेटरप्याड नै नक्कली हो भनेर मौखिक रुपमा माननीयज्यूहरुले जानकारी गराइरहनुभएको छ,’ उनले भने, ‘हामीले आवश्यक छानविन गछौंं।’ उनले सचिवालयमा पत्र आएपछि दर्ता भइहाल्ने भन्दै पहिले नै नक्कली हो वा सक्कली भन्ने थाहा नहुने बताए। आवश्यक अध्ययन नगरी प्रक्रिया अघि नबढ्ने उनको भनाइ छ।