काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रणमा सरकार उदासिन भएको आरोप लगाएका छन्।
कांग्रेसको कोभिड-१९ अनुगमन समितिले प्रदेश २ का जनप्रतिनिधि, नेता तथा कार्यकर्तासँग भर्चुअलरुपमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सरकार महामारी नियन्त्रणमा असफल भएको बताएका हुन्।
उनले अहिले कोरोना महामारीले भयावह अवस्था निम्तिएको बताए। कोरोना नियन्त्रणको विषयलाई संसदमा कांग्रेसले प्रमुखताका साथ उठाउने उनको भनाइ छ। महामारी नियन्त्रणको प्रमुख अस्त्र खोप भए पनि सरकारले खोप खरिद गर्न नसकेकोमा देउवाले आक्रोश पोखे।
‘सबै नागरिकलाई खोप दिनुपर्छ भनेर हामीले भन्दै आएका छौं। सरकारले खोप खरिद गर्न सकेको छैन। हामी सबै नागरिकलाई खोपको सुनिश्चितता गर्न सरकारलाई बाध्य बनाउनेछौं,’ उनले भने, ‘अक्सिजन, भेन्टिलेटरलगायतको कमी भइरहेको छ। पर्याप्त अक्सिजन प्लान्ट निर्माणका लागि हामीले माग गरिरहेका छौं। हामी सरकारलाई बाध्य पार्छौं।
उनले जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्तालाई आफू पनि बाँच्न र अरूलाई पनि बचाउन आग्रह गरे। स्वास्थ्य मापदण्ड आफूले पनि पालना गर्न र अरूलाई पनि पालना गर्न लगाउन भूमिका खेल्न देउवाले निर्देशन दिए।
कोरोना नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदाय सहयोग गर्न तयार रहे पनि सरकार उदासिन बनेको उनको आरोप थियो। ‘यस्तो उदासिन सरकार दुनियाँमा कहीँ छैन। महामारी नियन्त्रणका लागि अन्य देशले सहयोग गर्ने बताएका छन्। तर सरकारलाई चासो नै छैन,’ उनले भने, ‘विश्व स्वास्थ्य संगठनका हाकिमले पनि सहयोग गर्न तयार रहेको बताएका छन्। तर सरकार उदासिन छ।’