धनगढी– धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सर्जिकल र आकस्मिक कक्षलाई कोरोना वार्डमा परिवर्तन गरेको छ। सर्जिकल वार्डमा रहेका ४० शय्या र आकस्मिक कक्षमा रहेका ३४ शय्या कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको छ।
कोरोना संक्रमितको चाप दैनिक बढ्दै गएपछि अस्पतालले सर्जिकल वार्ड र आकस्मिक कक्षका ७४ शय्या संक्रमितको उपचारका लागि छुट्याएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। योसँगै अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि एक सय ३५ शय्या भएको छ।
गत वर्ष ५० शय्याको कोरोना संक्रमितको उपचारका लागि अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको अस्पतालले ११ शय्याको आईसीयू थपेर ६१ शय्या पुर्याएको उनले बताए। सोमबार अस्पतालमा एक सय ११ जना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये एक जनाको भेन्टिलेटर, १६ जनाको आईसीयू र ९० जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको श्रेष्ठले बताए। पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन्।
श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१ का ६३ वर्षीय महिला, कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का ६० वर्षीय पुरुष र वडा नम्बर १३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ।