काठमाडौं- कार्यालय समयभन्दा अतिरिक्त काम कामले शारीरिक तथा मानसिक समस्या निम्त्याउने गर्दछ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कार्यालय समयभन्दा बढी काम गर्नाले वार्षिक लाखौं सर्वसाधारणले ज्यान गुमाउने गरेको बताएको छ।
डब्ल्युएचओको एक अध्ययनले कार्यालय समयभन्दा बढी काम गर्नाले विश्वभर हरेक वर्ष ७ लाख ४५ हजार कामदारले ज्यान गुमाउने गरेको तथ्यांक निकालेको हो। सन् २०१६ मा गरिएको पहिलो सर्वेक्षणले लामो समयसम्म काम गर्नाले हृदयघात तथा नसासम्बन्धी रोगका कारण लाखौं सर्वसाधारणले ज्यान गुमाउनु परेको डब्ल्युएचओले जनाएको छ।
लामो समयसम्म काम गर्ने समस्याबाट धेरै ज्यान गुमाउनेमा दक्षिण पूर्वी एसिया र पश्चिमी प्रशान्त क्षेत्रका बासिन्दा बढी प्रभावित हुने गरेको तथ्यांकले देखाएको छ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीमा यसले उग्र रुप लिने चिन्ता व्यक्त गरेको छ।
साताको ५५ घण्टाभन्दा बढी काम गर्ने ३५ प्रतिशतमा पक्षघातको समस्या र १७ प्रतिशतमा हृदयघातको समस्या देखिने गरेको अध्ययनले देखाएको छ। साताको ३५ वा ४० घण्टा काम गर्नु स्वास्थ्यको दृष्टिकोणले सही भए पनि त्यसभन्दा बढी समय काम गर्नु हानिकारक भएको अध्ययनको निष्कर्ष छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले गरेको सर्वेक्षणले समेत आवश्यकताभन्दा लामो समयसम्म काम गर्नाले स्वास्थ्यमा समस्या आई अनाहकमा धेरैले ज्यान गुमाउने गरेको बताएको छ। आइएलओले कार्यालय समयभन्दा बढी काम गरी ज्यान गुमाएकाहरुमा एक तिहाइ मध्यम आयु भएका वर्ग र वृद्ध रहेको जनाएको छ।
डब्ल्युएचओले कोरोना महामारीले विश्व आर्थिक मन्दीमा गएसँगै सर्वसाधारणले दैनिकी चलाउनका लागि तोकिएको समयभन्दा बढी काम गर्नुपरेको आशंका जनाउँदै यसले झन् समस्या निम्त्याउने बताएको छ।
‘विश्व बजार महामारीको चपेटाका कारण लकडाउनमा गएपछि तोकिएको समयभन्दा बढी काम गर्नेको संख्या १० प्रतिशतले बढेको छ’ विश्व स्वास्थ्य संगठनका प्राविधिक अधिकारी फ्रांक पेगाले भनेका छन्। ‘लामो समयसम्म गर्नु भनेको रोगलाई निम्ता दिनु हो’ अध्ययनमा भनिएको छ।