काठमाडौं - नोभाका जोकोविचलाई हराउँदै राफेल नाडालले इटालिया ओपनको उपाधि जितेका छन्। इटालीको रोममा आइतबार राति सम्पन्न खेलमा नाडालले १० औं पटक इटालिया ओपनको उपाधि जितेका हुन्।
जितका लागि नाडालले जोकोविचलाई ७-५, १-६ र ६-३ को सेटमा हराएका थिए। पहिलो सेटको प्रतिस्पर्धात्मक खेलमा ५–५ को अवस्थाबाट दुई अंक आफ्नो पोल्टामा पार्दै जित निकालेका थिए।
तर, दोस्रो सेटमा जोकोविचले नाडाललाई सहजै दबाएर जित निकालेका थिए। जित निकालेपछि नाडालले यो हप्ता निकै फलदायी भएको बताए।
३४ वर्षे नाडालले भने, ‘यो हप्ता मेरो लागि सकारात्मक रह्यो र म निकै खुसी छु।’ उनले अब ३० मे बाट सुरु हुने फ्रेन्च ओपनका लागि तयारी गर्ने बताएका छन्।
विश्वका उत्कृष्ट टेनिस स्टार जोकोविच र नाडालको यो ५७ औं भिडन्त थियो। जहाँ ३३ वर्षे जोकोविचले हेड टू हेडमा अग्रता बनाएका छन्। उनले २९ खेल जितेका छन् भने नाडालले २८ खेल जितेका छन्।