काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीको योगदान अतुलनीय रहेको स्मरण गरेका छन्। मदन-आश्रित स्मृति दिवसको अवसरमा शोक वक्तव्य जारी गर्दै ओलीले दिवंगत नेता भण्डारी र आश्रितप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
भण्डारीका योगदानहरू दूरगामी महत्वका र अतुलनीय रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
नेपाली समाजको ऐतिहासिक विकासक्रम र विशेषता, मार्क्सवादका आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवको गहन अध्ययन एवं समीक्षा गरी मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गरेको ओलीले बताए।
जबज आज नेपाली क्रान्तिको सिद्धान्तका रुपमा स्थापित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसले लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्न र नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन मार्गदर्शन गरिरहेको उल्लेख गरे।
२८ वर्ष अगाडि जेठ ३ गते भएको दासढुङ्गा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो।