काठमाडौं- जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण त्रुटीपूर्ण भएको भन्दै पुनः शपथ ग्रहणको माग गरेका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले शपथ ग्रहणको शैलीले राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको भन्दै उक्त शपथ ग्रहण बदर गरी पुनः शपथ ग्रहण गराउन माग गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘२०७८ वैशाख ३१ गते सम्माननीय प्रधानमन्त्रीको शपथ ग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्य निषठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी ‘सत्यनिषठापूर्वक त्यो पर्दैैन’ भनेर शपथ ग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथ ग्रहण बदर गरी पुनः शपथ ग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ।’
त्यस्तै अध्यक्ष यादवले राजदूतहरु नियुक्तिमा संविधानको समावेशी सिद्धान्तबमोजिम नभएको भन्दै राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यससम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न माग गरेका छन्।
त्यस्तै कोरोना संक्रमणको समयमा अस्पतालमा अक्सिजन, बेडलगायतको अभावमा संक्रमितहरुले ज्यान गुमाउनु परिरहेको भन्दै जसपाले तत्काल तीनको व्यवस्था गर्न पनि माग गरेका छन्।
जसपामा अर्का अध्यक्ष महन्थ ठाकुर समूह भने अहिले केपी ओलीको पक्षमा देखिएको छ। यद्यपि गत वैशाख २७ गते प्रधानमन्त्री ओलीले लिएको विश्वासको मतका क्रममा ठाकुर पक्ष तठस्थ बसेको थियो। यादव पक्षले भने विपक्षमा मतदान गरेको थियो।
