जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले जमिरिया देवी धर्मशालामा रहेका गरिब तथा विपन्नका लागि निःशुल्क भोजनको व्यवस्था गरेका छन्।
दुई साताभन्दा लामो समयदेखि स्थानीय प्रशासनले जारी गरेको निषेध आदेशका कारण निम्न तथा मध्यम वर्गका समुदाय कष्टप्रद अवस्थाबाट गुज्रिरहेको समयमा वडाध्यक्ष साहले आइतबारदेखि निःशुल्क भोजनको व्यवस्था गरेका हुन्।
सोही वडास्थित जमिरिया देवी धर्मशालामा बसोबास गर्दै आएका कुष्ठ रोगी, मजदुर तथा विपन्नहरुलाई राहतस्वरुप दुई छाक भोजनको व्यवस्था निषेध आदेश अवधिभरका लागि गरेको वडाध्यक्ष साहले जानकारी दिए।
उनले वडामा रहेका गरिब निमुखाहरुको अवस्था निरीक्षण गरी भोककै कारण कसैलाई कुनै पनि किसिमको समस्या हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे।
उनले भने,‘हाम्रो वडामा जमिरिया देवी धर्मशालामा बसोवास गर्दै आएका झण्डै ४० जना र मुसहरी टोलमा वास बस्दै आएकाहरुलाई निषेध आदेश अवधिभरका लागि भोजनको व्यवस्था गरेका छौँ।’