विराटनगर– कोरोना संक्रमणबाट १० घण्टाको अन्तरमा एक दम्पतीको मृत्यु भएको छ। भारतदेखि घुमफिरका लागि नेपाल आएका दम्पतीको विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो।
उपचारका क्रममा आइतबार बिहान कोरोना संक्रमित वृद्ध दम्पतीको मृत्यु भएको हो। ६९ वर्षीय पुरुष आफ्नी ६४ वर्षीया श्रीमतीसहित भारतको मुम्बईबाट ताप्लेजुङ घुम्न आएका थिए। चार महिनाअघि ताप्लेजुङ आएका उनीहरु त्यसपछि मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित आफन्तको घरमा पाहुना आएका थिए।
श्वासप्रश्वासमा समस्या भएको भनेर वृद्ध पुरुषलाई वैशाख २० र उनकी श्रीमतीलाई वैशाख २३ गते उपचारका लागि भर्ना गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले बताए। उनका अनुसार पीसीआर परीक्षण गराउँदा दमको पुरानै समस्या रहेका वृद्ध दम्पतीको रिपोर्ट पोजिटिभ आएको थियो।
कोरोना पुष्टि भएपछि कोभिड वार्डमा भर्ना गरेर उपचार थालिएकोमा श्रीमतीको आइतबार बिहान राति १ बजे र श्रीमानको बिहान ११ बजेतिर मृत्यु भएको दाहालले बताए।
मृतक वृद्ध अवकाशप्राप्त भारतीय सेना भएको खुलेको छ। भारतीय सेनाबाट अवकाश पाइसकेपछि उनी परिवारसहित भारतको मुम्बईमै बस्दै आएका थिए। पथरीशनिश्चरे–१ का वडाध्यक्ष बाबुराम यङ्देनका अनुसार मृतक वृद्ध–वृद्धाका दुई छोरा परिवारसहित भारतकै मुम्वईमा बस्छन्। कोरोना संक्रमणका कारण दुई देशीय सीमा नाका सिल गरिएको हुँदा दुवै छोराले बाबु–आमाको मृत्युपछिको संस्कारमा सहभागी हुन नपाएको उनले बताए।
आफन्तकै उपस्थितिमा संक्रमित दम्पतीको शव पथरीशनिश्चरेको जय चोकस्थित जंगलमा लगेर नियमअनुसार व्यवस्थापन गरिएको वडाध्यक्ष यङ्देनले जानकारी दिए।