जनकपुरधाम- जनकपुरधामको श्री रामजानकी ग्यास उद्योगले अक्सिजन उत्पादन गर्ने भएको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ विन्दहीस्थित बेलामा रहेको श्रीराम जानकी ग्यास उद्योगले २ साताभित्रै अक्सिजन उत्पादन गर्ने जनाएको छ।
अक्सिजन उत्पादनका लागि उद्योगमा अहिले मेशिन जडान गर्ने कार्य भइरहेको उद्योगका सञ्चालक विजयकुमार साहले जानकारी दिए। उनका अनुसार मेशिन जडान गर्ने ७५ प्रतिशत कार्य पूरा भइसकेको तथा पाइपलाइन जडान गर्ने कार्य सम्पन्न भएलगत्तै अक्सिजन उत्पादन गर्ने कार्य सुरु हुनेछ।
उनले भने ‘हाम्रो लक्ष्य जतिसक्दो चाँडै अक्सिजन उत्पादन गर्नु छ, तर अझै १० दिन समय लाग्ने छ।’ अगाडि भने ‘अक्सिजन उत्पादन गर्ने योजना २ वर्षअगाडि नै थियो तर मेशिन अभावमा त्यो हुन सकेको थिएन।’
उनले गत वर्षकाे अप्रिल महिनामा अक्सिजन उत्पादन गर्ने मेशिन ल्याउने योजना रहे पनि कोरोना महामारीकै कारण ल्याउन नसकिएको बताए। विजयले भने ‘होलीभन्दा १० दिन अगाडि मात्रै भारतको पञ्जावको हाइटेक कम्पनीबाट मेशिनहरु ल्यायौँ, अब भारतकै जयनगरबाटै मेशिन जडान गर्ने मेकानिक ल्याएर काम अगाडि बढाएका छौँ।’
फिनिसिङको काम बाँकी नै रहे पनि यस्तो महामारीको बेलामा पहिले अक्सिजन उत्पादन गर्ने मेशिन जडान गर्ने कार्यलाई प्राथमिकता दिएको विजयको भनाइ छ।
सो उद्योगको मेशिन जडान गर्ने काम भारत जयनगरका पुरुषोत्तम शर्माले गर्दै आएका छन्। उनले अक्सिजन उत्पादन गर्ने सबै मेशिन जडान भइसकेको र अक्सिजन फिलिङ गर्ने पाइपलाइनको काम सम्पन्न हुन अझै १० दिन लाग्ने बताए।
उनका अनुसार अक्सिजन उत्पादनका लागि आवश्यक एयर कम्प्रेसर, मोइस्चर सेप्रेसन, उयर फिल्टर, कार्बन फिल्टर, अमोनिया फिल्टर, एयर सेप्रेसन युनिट, फिलिङ युनिटलगायतका यन्त्रहरु जडान भइसकेको छ।
श्रीरामजानकी ग्यास उद्योगका सञ्चालक विजयले भने, ‘मेशिनहरु जडान भइसकेपछि दैनिक ५०० सम्म ठूलो अक्सिजन सिलिण्डर फिल गर्ने क्षमता रहे पनि तत्काल २०० सिलिण्डर फिलिङ गर्न सकियो भने पनि हाम्रो लागि सफलता हुनेछ।’ अहिले अक्सिजनको हाहाकार भएको समयमा यहाँबाट उत्पादन हुने अक्सिजनले ठूले राहत हुने उनले विश्वास व्यक्त गरे।
धनुषा जिल्लामा सामान्य दिनमा २०० सिलिण्डर अक्सिजनले पुग्थ्यो भने अहिले महामारीको बेला ५०० सिलिण्डरले पनि अपुग भइरहेको विजयले बताए।