विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको बताएका छन्।
विराटनगरस्थित कोइराला निवासमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले सत्तारुढ दलभित्रको आन्तरिक किचलोमा सरकार रुमलिँदा कोरोनाको संक्रमण भयावह रुपमा फैलिएको आरोप लगाए।
‘कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले योजनाबद्ध रुपमा काम गर्न नसकेकै हो, उनले भने, ‘सीमा नाकामा समयमै होल्डिङ सेन्टर निर्माण, अक्सिजनको जोहो, आइसोलेसन निर्माणलगायतमा सरकार गम्भीर देखिएन।’
कोरोनाविरुद्धको लडाइँमा विगतमा भएका कमजोरीबाट पाठ सिकेर तत्काल खोप खरिद गर्न सरकारलाई उनले सुझाव दिए। उनले विकास निर्माणको खर्च कटौती गरेर तत्काल खोप खरिद गर्नुपर्नेमा जोड दिए। खोप नलगाएका भन्दा लगाएकामा संक्रमणको जोखिम कम भएको उनले बताए।
कोइरालाले स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकार मिलेर युद्धस्तरमा अस्थायी अस्पताल बनाउन आवश्यक रहेको औंल्याए। उनले वडा तहसम्मै आइसोलेसन बनाउनुपर्नेमा समेत जोड दिए। अक्सिजन प्लान्ट र अक्सिजनको जोहो गरेर वितरण प्रणालीलाई समेत व्यवस्थित बनाउन उनले आग्रह गरे। अस्पतालहरूले १५ दिनभित्र अक्सिजन प्लान्ट स्थापना गर्न सम्भव नभएको उनको भनाइ थियो।
उनले प्रधानमन्त्री ओलीको पुस ५ को कदमपछि राजनीतिक दलहरुमा ध्रुवीकरण बढेको उनको टिप्पणी थियो। उनले दलहरूबीच ध्रुवीकरण बढ्दा लोकतन्त्र नै कमजोर बन्ने अवस्था आएको सुनाए।