काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) मा विवाद बढेपछि आज दुई अध्यक्षबीच सघन वार्ता शुरु भएको छ। जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच भरखरै वार्ता शुरु भएको एक नेताले जानकारी दिए। ‘पछिल्लो समय पार्टीमा विवाद बढेपछि उहाँहरु छलफलमा बस्नुभएको छ,’उनले भने, ‘केही निकास निकाल्नुहुन्छ होला।’
एक वर्षअघि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको थियो। वैकल्पिक सरकार गठनको विषयमा पछिल्लो समय जसपाभित्रको विवाद चुलिएको छ।
जसपाभित्रको विवादकै कारण वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत गुमाएपछि त्यसपछि संयुक्त सरकार निर्माण हुन सकेन।
आजको वार्तामा पार्टीभित्रका समस्या समाधानको बाटो पहिल्याएर अघि बढ्ने वा अलग–अलग बाटो तय गर्ने भन्नेमा छलफल केन्द्रित हुने अध्यक्ष उपेन्द्र यादव निकट एक नेताले बताए।
महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेपछि विवाद थप चुलिएको छ। शनिबार नै उपेन्द्र–बाबुराम पक्षको कार्यकारिणी समितिको बैठक बसेर विधानविपरीत दलको नेता चयन भएको भन्दै कारबाही हुन सक्ने चेतावनी दिएको थियो।