काठमाडौं - कांग्रेसले कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिकाका विषयमा सातै प्रदेशमा छलफल थालेको छ।
कांग्रेसको कोभिड-१९ अनुगमन समितिले प्रदेश र सो प्रदेशअन्तर्गतका जिल्लामा महामारीको प्रभाव, रोकथाम र नियन्त्रणका लागि भएका प्रयास, गर्नुपर्ने कार्य र कांग्रेसले खेलिरहेको भूमिकाका विषयमा छलफलका लागि अनलाइनमार्फत् प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको हो।
आइतबार, सोमबार र मंगलबार सबै प्रदेशका लागि फरक-फरक समय निर्धारण गरी कार्यक्रम राखिएको कार्यक्रमको संयोजन गरिरहेका कांग्रेसका सहमहामन्त्री एवम् अनुगमन समिति संयोजक डा.प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार सबै कार्यक्रममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत सहभागी हुनेछन्।
यस्तै सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरू, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापति, गाउँ/नगरपालिका कार्यसमितिका सभापतिहरू तथा नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरू र नेपाली कांग्रेस कोभिड-१९ जिल्ला अनुगमन समितिका संयोजकको समेत सहभागिता रहने छ।
कांग्रेसका सचिव प्रेम केसीका अनुसार आइतबार बिहान १० बजेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेश र अपरान्ह ४ बजेदेखि लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाको सहभागितामा छलफल कार्यक्रम हुनेछ।
यस्तै सोमबार बिहान १० बजेदेखि गण्डकी प्रदेश, अपरान्ह ४ बजेदेखि बागमती, मंगलबार बिहान १० बजेदेखि प्रदेश २ र अपरान्ह ४ बजेदेखि प्रदेश १ भित्रका जिल्लाहरूको सहभागितामा कार्यक्रम हुनेछ।