सोमबार, असोज १२, २०८३

क्यूआर कोडबाट भुक्तानी गर्ने बढे

नेपाल राष्ट्र बैंकले डिजिटल पेमेन्टअन्तरगत क्यूआर कोडमार्फत भुक्तानी गर्न प्रेरित गर्न थालेपछि प्रयोगकर्ता बढेका छन्।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं - नेपाल राष्ट्र बैंकले डिजिटल पेमेन्टअन्तरगत क्यूआर कोडमार्फत भुक्तानी गर्न प्रेरित गर्न थालेपछि प्रयोगकर्ता बढेका छन्।

राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७७/७८को नौ महिना चैतसम्मको तथ्यांक अनुसार पछिल्लो समय क्यूआर कोडमार्फत हुने भुक्तानी बढ्दो क्रममा छ। गत साउनको तुलनामा भने चैतमा झण्डै पाँच गुणाले क्यूआर कोडमार्फतको भुक्तानी बढेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार गत साउन महिनामा क्यूआर कोडमार्फत ५८ करोड ९० लाख रुपैयाँ भुक्तानी भएको थियो। त्यसयता निरन्तर बढ्दो क्रममा रहेको क्यूआर कोडमार्फतको भुक्तानी चैतमा आइपुग्दा २ अर्ब रुपैयाँ नाघेको छ। चैतमा २ अर्ब ७२ करोड २० लाख रुपैयाँको क्यूआर कोडमार्फत भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांक छ।

राष्ट्र बैंकले पछिल्लो समय साना व्यवसाय अर्थात खुद्रा पसलहरू, तरकारी पसलहरू, चिया पसलहरूमा क्यूआर कोडमार्फत भुक्तानी गर्न प्रेरित गरिरहेको छ। गत पुस १० मा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नक्सालको तरकारी बजारमा क्यूआर कोडको सुरुवात गरेका थिए। 

त्यसयता कालीमाटी फलफुल तथा तरकारी बजार, बल्खु तरकारी बजार, विभिन्न ठेला व्यवसायीहरूले पनि क्यूआर कोडमार्फत भुक्तानीको व्यवस्था गरेका छन्। पुस महिनामा काठमाडौं उपत्यका भित्र र बाहिरका विभिन्न तरकारी बजारमा क्यूआर कोडमार्फत हुने भुक्तानीको सुरुवात गरेपछि माघ यता क्यूआर कोडमार्फत हुने भुक्तानी तिब्र बढेको तथ्यांकले देखाउँछ।

यस्तो छ क्यूआर कोडमार्फत चालु आर्थिक वर्षको नौ महिनामा भएको भुक्तानी

साउनमा ५८ करोड ९० लाख
भदौमा ६४ करोड ८० लाख
असोजमा ९६ करोड ९० लाख रुपैयाँ
कार्तिकमा ९३ करोड ९० लाख
मंसिरमा १ अर्ब २५ करोड ६० लाख रुपैयाँ
पुसमा १ अर्ब २४ करोड ५० लाख रुपैयाँ
माघमा १ अर्ब ७१ करोड २० लाख रुपैयाँ
फागुनमा २ अर्ब ५ करोड ५० लाख
चैतमा २ अर्ब ७२ करोड २० लाख रुपैयाँ

प्रकाशित: May 16, 2021| 05:50 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्