काठमाडौं - हाल कोरोना महामारीका कारण मुलुक आक्रान्त बनेको छ। कोरोना भाइरस संक्रमितहरूको संख्या दैनिक वृद्धि भइरहेकोले स्वास्थ्य प्रणालीले थेग्न नसक्ने स्थिति सिर्जना भएको छ। यस्तो अवस्थामा अस्पतालमा बिरामीको चाप बढेको छ। अक्सिजन अभावमा बिरामीहरू अस्पतालमा छटपटाइरहेका छन्।
अक्सिजन अभाव हुन थालेपछि अस्पतालहरूले बिरामी भर्ना लिन मानिरहेका छैनन्। कतिपय अस्पतालले अक्सिजनको अभावमा बिरामीको मृत्यु भए अस्पताल जिम्मेवारी छैन भन्दै बिरामीका आफन्तलाई मञ्जुरीनामा गराइरहेका छन्।
सुदूरपश्चिममा पनि अक्सिजन अभावका कारण कयौंले ज्यान गुमाउनु परेको खबरले मर्माहत भएको बताउँदै रुडुक नेपालकी केन्द्रीय महासचिव तथा नेपाल हिन्दू महासंघकी वरिष्ठ उपाध्यक्ष ज्योत्सना साउदले सुदूरपश्चिममा चार थान अक्सिजन कन्सनट्रेटरसहितका स्वास्थ्य सामग्री सहयोग गरेकी छन्।
महासचिव साउदले गृहजिल्ला कञ्चनपुरका लागि तीन थान अक्सिजन कन्सनट्रेटर, १५ थान अक्सिमिटर, स्यानीटाइजर र मास्क सहयोग गरेकी हुन्। त्यसैगरि एक थान अक्सिजन कन्सनट्रेटर र पाँच थान अक्सिमिटर नेपाल पत्रकार महासंघ सुदूरपश्चिम शाखालाई सहयोग गरेकी छन्।
यस्तो महामारीको समयमा थोरै भए पनि राहत होस् भनेर उक्त सहयोग गरेकी महासचिव साउदले बताएकी छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूवमन्त्री एनपी साउदपत्नी ज्योत्सनाले भनिन्, 'यस्तो महामारीका समयमा कोरोनाका बिरामीहरुलाई थोरै भए पनि राहत होस् भनेर यो सहयोग गरिएको हो । अलि बढी नै पाइन्छ कि भनेर हामीले प्रयास गर्यौ तर, बजारमा सामान नै नपाइएका कारण अहिलेलाई यति नै पठाएका हौं । हामीले सुदूरपश्चिमका सबै जिल्लामा पुग्ने गरि सहयोग गर्नतर्फ प्रयास गरिरहेका छौं।'
देशविदेशबाट धेरैले सहयोग गर्ने प्रतिबद्धा जनाएको भए पनि बजारमा सामाना अभावका कारण उपलब्ध गराउन नसकिएकोसमेत उनले जानकारी दिएकी छन्।
साउदले कोरोना महामारीको पहिलो लहरका क्रममा पनि सुदूरपश्चिमका विभिन्न जिल्लामा राहत सहयोग उपलब्ध गराएकी थिइन्।