जनकपुरधाम- जमिरिया देवी धर्मशालामा कवाडीको काम गर्ने तथा मागी खानेहरुको परिवारलाई एनएसयु तथा रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको क्विक रेस्पोन्स टीमले राहत वितरण गरेको छ।
क्विक रस्पोन्स टिमका राकेशविक्रम साहको नेतृत्वमा गएको एक टोलीले त्यहाँ वास बसेका परिवारलाई राहत वितरण गरेको हो। प्रत्येक परिवारलाई राहतमा चामल, दाल, तेल, नुन, मस्यौरा तथा मास्क वितरण गरिएको साहले जानकारी दिए।
उनका अनुसार जनकपुरधाम उद्योग वाणिज्य संघका एसोसिएट सदस्य चन्दन साहले उपलब्ध गराएको सहयोगको आधारमा उनीहरुलाई राहत वितरण गरिएको बताए। प्रतिपरिवार ५ किलो चामल, एक किलो दाल, एक प्याकेट नुन तथा तेल, मस्यौरा र मास्क वितरण गरिएको उनले बताए।
जमिरिया देवी धर्मशालामा कवाडीको काम गर्ने तथा मागी खानेहरुको परिवार वास बस्दै आएका छन्। जमिरिया देवी धर्मशालामा १५ परिवारको बसोवास छ। त्यहाँ बसोवास गर्नेको विचल्ली भएको बारे नेपालसमयडटकमले समाचार प्रकाशन गरेपछि सहयोगी हातहरु राहत लिएर त्यहाँ पुगेका हुन्।