काठमाडौं- फिफा विश्वकपको २१औं शृंखला पाँच दिनपछि अर्थात् १४ जुनदेखि रुस शुरु हुँदैछ । फुटबलको कुम्भमेलामा संसार नै तरंगित हुने गर्छ । आ-आफ्नो रोजाइका टिमको जर्सी लगाएर 'फ्यान'हरूले विश्वकपको 'क्रेज' प्रकट गर्छन्, यतिबेला ।
फुटबल प्रेमी मुलुक मानिन्छ, नेपाल । त्यसैले यहाँ पनि विश्वकपको क्रेजले छपक्कै छोप्नु स्वाभाविकै हो । विश्वकप अवधिभर त्यसको ज्वरो यसरी चढ्छ कि घर मात्र होइन, होटेल र रेस्टुराँहरूमा पनि ठूला स्क्रिनमा प्रत्यक्ष प्रसारण हेर्नेहरूको भीड लाग्छ ।
धेरै जनाले विश्वकपका लागि समय व्यवस्थापन गरिसक्नुभएको होला । कतिले त आ-आफ्ना टिमले जित्ने दाबीसहित बाजी पनि लगाउनुभएको होला । कुन साथीको घरमा बसेर प्रतियोगिताहरू हेर्ने योजना बनिसकेका होलान् । त्यस क्रममा के खाएर रमाइलो गर्ने योजना बनाउन व्यस्त होलान्, फ्यानहरू ।
सामाजिक सञ्जालमा तयार भएका 'ग्रुप'हरू त साथीभाइ भेला भएर प्रत्यक्ष प्रसारणमै लागिसकेका छन् । यसबाट देखिन्छ, युवा पुस्ता कति क्रेजी भएर लागेको छ विश्वकपका लागि ।
नेपालमा अर्जेन्टिना, ब्राजिल र जर्मनीका फ्यान बढी छन् । तिनैमध्येका हुन्, सिल्भर माउन्टेन कलेजमा स्नातक दोस्रो सेमेस्टर अध्ययनरत राहुल खनाल । उनी यसपालि जर्मनीका समर्थक हुन् । उनी धेरै 'एक्साइटेड' देखिन्छन् । साथीहरूसँग मिलेर हरेक 'म्याच'का लागि पाँच सय रुपैयाँको बाजी पनि थापेका छन् ।
सिल्भर माउन्टनकै विद्यार्थी तेजन कार्की भने यसपालि बेल्जियमका समर्थक हुन् । बाजी हाल्ने कुरामा उनी टाढा बसेका छन् । तर, साथीभाइसँग बसेर खुबै रमाइलो गर्ने योजनामा छन् । कार्कीको परिवार नै फुटबल प्रेमी हो ।
मार्केटिङ अफिसर सुजन खतिवडा अर्जेन्टिनामा फ्यान हुन्, जसले सन् २००६ देखिका जर्सीहरू संकलन गरेर राखेका छन् । यसपालि परिवारका सबै सदस्यलाई जर्सी किनिदिएका छन् । आफ्ना लागि भने साइज नमिलेर किन्न पाएका छैनन् ।
भद्रकाली स्पोर्ट्सकी सञ्चालक कृतिका सापकोटा भने यस वर्ष विगतजस्तो क्रेज नभएको बताउँछन् । विश्वकपमा भाग लिने देशहरूको झण्डा, ब्याच, युवती र बालबालिकाको जर्सी अभावका कारण व्यापार फस्टाउन नसकेको उनी बताउँछिन् ।
सोही कारण यसपालि ग्राहकले छानीछानी जर्सी खरिद गर्न नपाउने उनको दाबी छ । स्वदेशमा बनेका जर्सीको गुणस्तर कमजोर रहेको सापकोटा बताउँछिन् । 'पहिलेका विश्वकपमा सबैलाई भ्याइनभ्याई हुन्थ्यो तर यसपालि त्यो उत्साह न ग्राहकमा छ, न त व्यापारीमै,' उनी भन्छिन् ।
विश्वकपका लागि ३२ वटा मुलुकका अन्तिम टोली छनोट भइसकेका छन् । हरेक टिमका २३ खेलाडीको सूची पनि सार्वजनिक भइसकेको छ । विश्वभरबाट फुटबलका करौडौं फ्यान टेलिभिजन अगाडि आउँदैछन् ।

यसअघिका चर्चित र उत्कृष्ट खेलाडीहरू यसपालि नरहने फिफाले जनाएको छ । इटाली, नेडरल्यान्ड्स र चिली यस पटक छनोटमा परेनन् ।
सन् २००६ मा जर्मनीमा भएको खेलपछिको यो युरोपमा हुने दोस्रो विश्वकप हो । एक साताअघि सार्वजनिक गरिएको फिफा वरियतामा पहिलो नम्बरमा जर्मनी नै छ । ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, पोर्चुगुल चौथो, अर्जेन्टिना पाँचौं, स्विट्जरल्यान्ड छैटौं, फ्रान्स सातौं, पोल्यान्ड आठौं, चिली नवौं र स्पेन दशौं स्थानमा छन् ।
तस्बिर : सन्ध्या श्रेष्ठ ।