धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८३५ नमूना परीक्षण गर्दा ५५५ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीका ५३४ जना छन्। सोमध्ये धनगढी उपमहानगरपालिकाका २७२ जना रहेको सूचना अधिकारी श्रेष्ठले बताए।
श्रेष्ठले अन्य जिल्लाका २० जनामा समेत संक्रमण पुष्टि भएको बताए। उनले हाल अस्पतालमा १०८ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए। सोमध्ये एक जनाको भेन्टिलेटरमा र १४ जनाको आईसीयूमा उपचार भइरहेको छ। ९० जनाको अक्सिज सपोर्टमा र २९ जनाको इमरजेन्सी कक्षमा राखेर उपचार भइरहेको उनले बताए।
अस्पतालमा उपचाररत ६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको बर्दगोरिया गाउँपालिका–२ का ४० वर्षीय पुरुष, गोदावरी नगरपालिका–१० का ५८ वर्षीय महिला, वडा नम्बर १ का ४१ वर्षीय पुरुष र वडा नम्बर १० का ६४ वर्षीय पुरुष, धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५३ वर्षीय पुरुष र बैतडीको दशरथचन्दका ३६ वर्षीय पुरुषको मृत्यु भएको छ।
योसँगै सेती अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या १२६ पुगेको छ। कोरोनाको पहिलो लहरमा अस्पतालमा उपचाररत ३३ जना कोरोना संक्रमितको मृत्यु भएको श्रेष्ठले बताए।