काठमाडौं- भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भएको छ। भक्तपुरकै मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादन सुरु गरेलगत्तै भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया अघि बढाएको हो।
बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा भक्तपुर अस्पतालमा अक्सिजन प्लान्ट राख्न लागिएको हो। त्यसका लागि प्रदेश सरकारले २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन्। मेसु गौतमका अनुसार जडान गर्न लागिएको प्लान्टले दैनिक चार हजार लिटर अक्सिजन उत्पादन गर्नेछ। ‘युएस कम्पनीको प्लान्ट जडान हुने र यसले दीर्घकालीन रुपमा अक्सिजन आपूर्तिको समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरेकी छु’, मेसु गौतमले भनिन्।
भक्तपुर अस्पतालले कोरोना संक्रमितको उपचारमा जिल्लामै अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। गत वर्ष प्रदेशको उत्कृष्ट अस्पताल हुन सफल सो अस्पतालमा हाल ६५ कोरोना संक्रमितको उपचार भइरहेको छ। अक्सिजनको अभावकै कारण कोरोना संक्रमितको उपचारका लागि ७५ शय्यासम्म विस्तार गरिसकेको यो अस्पतालले केही शय्या कटौती गरिसकेको छ। अक्सिजनको अभावलाई न्यूनीकरण गर्न मेसु डा. गौतमले तराईका जिल्लाबाट समेत अक्सिजन ल्याएर बिरामीको उपचार गरिएको बताइन्।
मेसु डा गौतमले अस्पतालका आधा दर्जन स्वास्थ्यकर्मीसमेत कोरोना संक्रमित रहेका जानकारी दिँदै यस विषम परिस्थितिमा अस्पताललाई आफ्नै सम्झेर हौसला र सहयोगका लागि आम जनसमुदायसँग अपिलसमेत गरेकी छन्। रासस