जनकपुरधाम- कोरोना महामारीको बेला उपचारमा लापरवाही बढेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघले प्रादेशिक अस्पताल अगाडि प्रदर्शन गरेको छ।
पछिल्लो समय उपचार अभावमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको भन्दै नेविसंघले प्रादेशिक अस्पताल अगाडि प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागी युवाहरुले अस्पताल प्रशासन, मेडिकल सुपरिटेन्डेन्ट र प्रदेश २ का सामाजिक विकासमन्त्रीविरुद्ध चर्को नाराबाजी गरेका थिए।
उनीहरुले कोरोनाको उपचार निशुल्क गर, अक्सिजनको ग्यारेन्टी गर जस्ता नारा लेखिएका प्लाकार्ड बोकेका थिए। साथै उनीहरुले मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, मेसुलगायतको राजीनामा समेत मागे।
प्रादेशिक अस्पतालमा मेसुको कार्यशैली चिकित्सकको जस्तो नरहेकाले उनलाई घचघच्याउनकै लागि प्रदर्शन गर्न आफूहरु बाध्य भएको नेविसंघका केन्द्रीय सदस्य कपिलदेव यादवले बताए। अस्पताल प्रशासन यस्तो महामारीको बेलासमेत बिरामीको उपचारभन्दा पनि आफ्नो गोजी भर्न व्यस्त रहेको यादवले आरोप लगाए।
उपचार अभावमा दिनदिनै बिरामीहरु ज्यान गुमाइरहेको भन्दै नेविसंघका सोनुकुमार निधिले अविलम्ब मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, मेडिकल सुपरिटेन्डेन्टको राजिनामा माग गरे।