प्रधानमन्त्रीमा तपाईंको पुनर्नियुक्तिसँगै कोरोना महामारीविरुद्धको युद्धको सेनापतिको जिम्मेवारी फेरि पनि तपाईंको काँधमा आएको छ। यो महामारीबाट हामीले धेरै जीवन गुमाइसक्यौं। अझ कति गुमाउने हो थाहा छैन। तीमध्ये धेरैलाई बचाउन सकिन्थ्यो। अझै पनि बचाउन सकिन्छ।
तर कामनाले मात्र सम्भव छैन। काम चाहिएको छ। प्रार्थनाले मात्र सम्भव छैन, तपाईं हाम्रो प्रयत्न चाहिएको छ। त्यसैले पुनर्नियुक्ति हुनुभएको यो क्षणमा म मेरो प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु– अब केही दिन मात्र केही दिन छाडिदिनुस् पार्टीभित्रको विवाद मिलाउन, चर्काउन वा फकाउन, फुटाउन सबै कुरा छाडिदिनुस्।
केही दिनका लागि सभासम्मेलन, भेटघाट। उद्घाटन, शिलान्यास सबै रोकिदिनुस्। केही दिनलाई बोल्न बन्द गरिदिनुस्। यथार्थलाई स्वीकार गर्नुस्। अनि तपाईंको मन, ध्यान तपाईंको सम्पूर्ण शक्ति तपाईंको समय सम्पूर्ण शतप्रतिशत यही महामारीविरुद्धको युद्धमा लगाउनुस्।
प्रधानमन्त्रीज्यू, मेरो तपाईंसँग थुप्रै सहमतिहरु छन्। तपाईंको विचार र व्यवहारप्रति मेरा थुप्रै प्रश्नहरु छन्। तपाईंका वचन र कर्मप्रति मेरा थुप्रै असन्तुष्टिहरु छन्। तर केही दिन यी असहमति, असन्तुष्टि यी प्रश्नहरु सबैलाई थाती राख्नका निम्ति म तयार छु। हामी तयार छौं। तपाईंका समर्थक त सधैं तपाईसँगै छन्। तर तपाईं इमानदारीपूर्वक यो महामारीसँग जुधिरहेका नेपाली जनताको जीवन जोगाउन लाग्ने हो भने म र मजस्ता कैयन्लाई तपाईंलाई नदीको अर्को किनारामा होइन, तपाईंसँगै उभिएको पाउनु हुनेछ। तपाईंलाई मद्दत गरिरहेको पाउनुहुनेछ।
तपाईंको सरकारलाई सफल बनाउनका निम्ति लागिरहेको पाउनुहुनेछ। त्यसैले म तपाईंलाई एकपल्ट अनुरोध गर्न चाहन्छु प्रधानमन्त्रीज्यू, तपाईंले एकपटक फेरि मौका पाउनुभएको छ। यो मौकालाई खेर नफालौं। यो पटक अलि फरक ढंगले काम गरौं। तपाईं र हामी मिलेर जीवनबाट आशा गुमाइसकेकाहरुलाई आशा दिने प्रयत्न गरौं। अक्सिजन नपाएर छटपटाएकाहरुलाई सास दिने प्रयत्न गरौं। अनि आर्यघाटमा पुग्ने लासहरुको संख्या घटाउने प्रयत्न गरौं। मिलेर गरौं।
(कांग्रेस नेता थापाले शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा व्यक्त धारणा)
. @PM_Nepal ज्यू, फेरी एकपटक मौका पाउनु भएको छ।
अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन,ध्यान,शक्ति,उर्जा, संयन्त्र सवै महामारीसंग जुध्न लगाउनुहोस। हामी पनि अबको केही समय तपाईंसँगका सवै असहमतिलाई विसाएर
जनताको जीवन रक्षा गर्न तपाईंको साथमा उभिनेछौं। pic.twitter.com/hdmodE3daJ
— Gagan Thapa (@thapagk) May 15, 2021